काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सरकारले देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको पूर्वसन्ध्या, निर्वाचनको दिन र त्यसको भोलिपल्ट गरी फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। निर्वाचन आयोगको सिफारिस बमोजिम सरकारले यो निर्णय लिएको हो। आफ्नै गृहजिल्ला र गाउँ पुगेर मतदान गर्न चाहने कर्मचारी, शिक्षक तथा निजी क्षेत्रमा कार्यरत सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले सरकारले तीन दिनको बिदा दिएको बुझिएको छ। मन्त्रिपरिषद्को यो निर्णयसँगै देशभरका सरकारी कार्यालय, अर्ध(सरकारी निकाय र शैक्षिक संस्थाहरू फागुन २० देखि २२ सम्म बन्द रहनेछन्। धेरैजसो मतदान केन्द्रहरू विद्यालयमा रहने र शिक्षकहरू निर्वाचन कार्यमा खटिनुपर्ने भएकाले पठनपाठन पूर्ण रूपमा प्रभावित हुनेछ। निर्वाचन आयोगले शतप्रतिशत मतदान सुनिश्चित गर्न र सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारलाई बिदाको सिफारिस गरेको थियो। गृह मन्त्रालयका अनुसार निर्वाचनका क्रममा हुन सक्ने सवारी चाप र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बिदाको समयमा अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरू स्थगित रहनेछन्।