free website hit counter

बजार अनुगमनमा सरकार कमजोर, बजार भाउ अनियन्त्रित

beemaadmin
२०८३ श्रावण २४, आईतवार

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता बजारमा चामल र खानेतेलको मूल्य निरन्तर बढिरहेको भए पनि मूल्यवृद्धि नियन्त्रण र बजार अनुगमनमा सरकार प्रभावकारी देखिन सकेको छैन। आयातकर्ता तथा उद्योगीले बढेको मूल्यमा सामान बजारमा पठाइरहेको व्यवसायीहरूले बताइरहँदा सरकारले मूल्यवृद्धिको वास्तविक कारण पहिचान गरी उपभोक्तालाई राहत दिने गरी प्रभावकारी अनुगमन गर्न सकेको छैन।

पछिल्लो समय चामल र खानेतेलको मूल्यमा लगातार वृद्धि भइरहेको छ। किराना व्यवसायीका अनुसार हरेक साता नयाँ मूल्यमा सामान बजारमा आउने गरेको छ। तर मूल्य बढ्नुको स्पष्ट कारणबारे आयातकर्ता तथा उत्पादकले जानकारी नदिएको उनीहरूको गुनासो छ।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधरले बजारमा मूल्य बढिरहेको भए पनि मूल्यवृद्धिको कारण स्पष्ट हुन नसकेको बताए। उनका अनुसार साउन १ गते प्रतिकिलो १०० रुपैयाँ रहेको स्टिम चामल अहिले १०५ रुपैयाँ पुगेको छ। काँचो तोरीको तेल प्रतिलिटर १० रुपैयाँ बढेर २९० रुपैयाँ तथा सूर्यमुखी तेल प्रतिलिटर ५ रुपैयाँ बढेर २९० रुपैयाँ पुगेको छ।

नेपाल चामल, तेल तथा दाल उद्योग संघका उपाध्यक्ष राहुल अग्रवालले भने धानको मूल्य बढेका कारण चामल महँगिएको दाबी गरेका छन्। उनका अनुसार भारतमा धानको मूल्य बढ्नुका साथै नेपालको आन्तरिक बजारमा समेत धानको मूल्य प्रतिक्विन्टल करिब ८ सय रुपैयाँसम्म बढेको छ। त्यसको असरले चामलको मूल्य प्रतिकिलो १५ रुपैयाँसम्म बढेको उनको भनाइ छ।

यद्यपि, बजारमा उपभोक्ताले तिर्नुपर्ने मूल्य र उद्योग तथा आयातकर्ताले तोकेको मूल्यबीचको अन्तर, मूल्य बढाउने आधार तथा बजारमा भइरहेको वास्तविक कारोबारबारे सरकारले प्रभावकारी रूपमा अनुगमन गर्न सकेको देखिँदैन।

साल्ट ट्रेडिङ कर्पोरेसनका बजार प्रबन्धक प्रज्वल प्रधानका अनुसार अहिले ब्रान्डअनुसार जिरा मसिनो चामलको २५ किलोको बोरा २ हजार ५ सयदेखि २ हजार ६ सय रुपैयाँसम्म पुगेको छ। सोना मन्सुलीको बोरा १ हजार ७ सय ५० रुपैयाँ तथा स्टिम चामलको मूल्य २ हजार ४ सयदेखि २ हजार ५ सय ५० रुपैयाँसम्म पुगेको छ। पछिल्लो समय चामलको मूल्य बोरामै ६ सय रुपैयाँभन्दा बढी बढेको उनले बताए।

बजारमा मूल्य बढिरहेको तथ्य बाहिर आइरहँदा सरकारले भने मूल्यवृद्धिको शृंखलाको स्रोत पहिचान, लागत र बिक्री मूल्यको तुलनात्मक अध्ययन तथा कृत्रिम मूल्यवृद्धि भए–नभएको विषयमा कडाइका साथ अनुगमन गर्न सकेको छैन। यसले बजारमा व्यवसायीको मनोमानी बढ्ने र त्यसको प्रत्यक्ष भार उपभोक्तामाथि पर्ने जोखिम बढाएको छ।

बानेश्वरस्थित खाद्यान्न व्यवसायी समर कठायतका अनुसार नयाँ सामान आउँदा हरेक पटक बढेको मूल्यमा आउने गरेको छ। डिलर तथा आपूर्तिकर्ताले मूल्य बढ्नुको स्पष्ट कारण नदिँदा खुद्रा व्यवसायीसमेत अन्योलमा पर्ने गरेको उनको भनाइ छ।

व्यवसायीहरूले आगामी चाडपर्वको समयमा चामलको मूल्य अझै बढ्न सक्ने चेतावनी दिएका छन्। नयाँ धान बजारमा नआएसम्म तत्काल मूल्य घट्ने सम्भावना कम रहेको उनीहरूको भनाइ छ।

चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नको मागसमेत बढ्ने भएकाले सरकारले अहिलेदेखि नै प्रभावकारी बजार अनुगमन, मूल्य विश्लेषण र आपूर्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ। अन्यथा अहिले सामान्य देखिएको मूल्यवृद्धि चाडपर्वका बेला थप चर्किएर त्यसको प्रत्यक्ष मार उपभोक्ताले व्यहोर्नुपर्ने अवस्था आउन सक्छ।

यसले बजारमा मूल्य बढ्नुको वास्तविक कारणभन्दा पनि सरकारको कमजोर बजार अनुगमन र नियमनका कारण व्यवसायीलाई मूल्य निर्धारणमा थप सहजता भइरहेको हो कि भन्ने प्रश्नसमेत उठाएको छ।

सम्बन्धित समाचार