सबै व्यवसायमा चर्को प्रतिस्पर्धा छ । एउटा सफल भएपछि त्यसको सिको गर्ने र उस्तै प्रकृतिका व्यवसाय गर्नेको लर्को नै लाग्छ । नेपालको बजार प्राय सबै क्षेत्रको प्रतिस्पर्धात्मक छ र हुनु पनि पर्दछ । नयाँ सिर्जना भन्दा देखासिकी र निरन्तरताको निरन्तरता नै बढी पाइन्छ । यसै पाटोको एउटा सफल व्यवसायको रुपमा बीमा व्यवसाय पनि पर्दछ । नेपालमा सबै प्रकारका बीमा कम्पनीहरु प्राय छन् जसमा जीवन, निर्जिवन र पुनर्बीमा । वि.सं. २०२४ सालमा राष्ट्रिय बीमा संस्थानको स्थापनापछि ६ चरणमा बीमा कम्पनीको विस्तार भई ४० वटा बीमकहरु हुन पुगेका छन् । २०६० को सेरोफेरोमा बीमकको उपस्थिति थोरै थियो । बीमाको दायरा पनि थोरै नै थियो । जसमा ५–७ प्रतिशतको हाराहारीमा बीमा गरिएको पाइन्थ्यो भने हाल बीमकहरु पनि बढी छन् र बीमाको दायरा पनि बढेर २२–२५ प्रतिशतको हाराहारीमा पुगेको छ ।
बीमकको संख्या बढ्दा व्यापार बढ्दो रहेछ ?
उपरोक्त तथ्यांकले त्यही देखाउँछ तर सामान्यतया अर्थशास्त्रको नियम भनेको माघ बढी भए पूर्ति कम हुन्छ र माग कम भए पूर्ति बढी हुन्छ । यो प्राय सबै व्यवसायमा लागू हुन्छ । तर बीमामा जति बेला बीमक कम थिए व्यापार बढी हुनु पर्दथ्यो । तर उल्टो जब बीमक बढी भए व्यापार पनि बढी भयो । किनकि यो प्राविधिक व्यवसाय भएको हुनाले सबैले सबै कुरा बुझ्दैनन् । आम जनमानसलाई बीमाबारे जानकारी दिने बीमकले हो र त्यसपछि बीमा समितिले हो । तत्कालिन अवस्थामा चेतना विस्तारमा गति नलिए पनि हाल आएर बीमकलगायत विभिन्न सञ्चार माध्यमहरु लगायतले बीमा बजारको प्रचार प्रसारमा सकारात्मक र रचनात्मक भूमिका खेलेर नै बीमा बजार सन्तोषप्रद देखिन्छ । यहाँ माग र पूर्तिको सिद्धान्त नमिल्नु प्रमुख कारण पनि यही हो र अन्य सहायक कारणहरु धेरै छन् ।
बीमा बजार र समस्या सँगसँगै बढे
कुनै पनि क्षेत्र समस्यारहित हुँदैन त्यसभित्र बीमा व्यवासय पनि प¥यो । बीमा बजार विस्तारको क्रममा अस्वस्थ प्रतिस्पर्धा भइरहे । जीवन वा निर्जिवन बीमामा यो क्रम जारी छ । जीवन बीमामा नयाँ बीमकलाई स्थापित हुनलाई नयाँ बीमालेख बजारमा बिक्री गर्ने बाध्यता जसमा अन्य भन्दा फरक हुनु पर्ने । यसरी आकर्षक बीमालेख जारी गरी बिक्री गर्दा गर्दै कुनैलाई बीमा समितिले प्रतिवन्ध लगाइदियो भने कुनै बीमालेखको जोखिम र घोषित मुनाफा दिन नसकेर बीमालेख नै बिक्री गर्न बन्द गर अभिकर्ताहरुलाई अन्य बीमा लेख बिक्री गर्दाको बढी फाइदा हुन्छ भनी प्रोत्साहन गर्न थाले वा २÷३ वर्षमा नै आफ्नो पोलिसी बिक्री बन्द गरे । यो एउटा अदूरदर्शी बजार व्यवस्थापन र प्रमुख विकृति हो ।
निर्जिवन बीमाको समस्या झन् बढी
बीमा बजार अभिकर्तामुखि नै हुन्छ । त्यो राम्रो र एकद्वार प्रणाली जस्तै प्राय हुन्छ तर निर्जिवन बीमा त्यस्तो हुन सकेन । निर्जिवन बीमामा अभिकर्ताको आकर्षण नै देखिँदैन कारण के भने यस बीमामा बीमित सम्पत्तिको शीर्षक अनुसारको कमिशन तोकिनु, कुनै शीर्षकमा नदिनु र बीमकको कर्मचारी आफैं बजारमा जानु प्रमुख कारण हुन् र बीमाको कर्मचारीले अभिकर्ताल पाउने कमिशन छूट गराई त्यसमा पनि दर रेटमा घटाई व्यापार गर्नु ठूलो चुनौती हो । यसको विकृति रोक्न बीमा पुल बन्यो, बीमक संघ छ तर विकृति यथावत छ ।
नौ वटा नयाँ बीमक स्वीकृति पाउने आशामा
नेपालमा जीवन बीमा कम्पनी १९, निर्जिवन बीमा २०, पुनर्बीमा १ सहित ४० वटा बीमकहरु छन् र हाल ४ वटा पुनर्बिमा, २ वटा निर्जिवन बीमा र ३ वटा जीवन बीमा कम्पनी दर्ताको दौडधूप चलिरहेको छ । यी सबैलाई बीमा समितिले सिफारिश गरेमा अर्थ मन्त्रालयले स्वीकृति दिने हो । यसमध्येका धेरै बीमकको हल्लीचल्ली बजारमा भइसक्यो । जबकि पुनर्बीमाको लागि त गठित अध्ययन टोली प्रमुख बीमा विज्ञ भोजराज शर्मा नेतृत्वको टोलीले प्रतिवेदन बुझाइसक्यो अब निश्कर्ष आउला । त्यस बाहेक तीन वटा जीवन र दुईवटा निर्जिवन बीमा कम्पनी खोल्नका लागि ताकेता यथावत छ । यी सबै बीकमका संस्थापक भने ठूला घराना नै रहेका छन् ।
चुनौती के छ ?
अघिल्लो शीर्षकमा यसबारे लेखे पनि अब बीमक थपिए भने बीमा बजारमा चुनौती नसोचेकै रुपमा थपिन्छ । बीमकले उत्पादनको प्रचार गर्दा भ्रम सिर्जना हुनसक्छ आम मानिसलाई थाहा नहुन सक्छ किनकि धेरै जीवन बीमालेख फेल हुँदैछन् । एकल/दम्पत्ति, नयाँ बीमकको पूर्व घोषित बोनसदर लगायतका बीमालेख समस्याग्रत भइसके । बीमकहरुको चुनौती धेरै हुँदाहुँदै थप बीमा थप्दा चुनौती निश्चित प्राय छ ।