काठमाण्डौ । बागमती प्रदेशमा आजबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढेको छ। काठमाण्डौ उपत्यकासहित बागमती प्रदेशका सबै जिल्लामा सार्वजनिक यातायातको भाडा बढेको हो। बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादरअनुसार ५ देखि २० किलोमिटरसम्मको भाडा ३ रुपैयाँसम्म बढेको छ।
नयाँ भाडादरअनुसार काठमाण्डौ उपत्यकामा ५ किलोमिटरसम्म २० रुपैयाँ र १० किलोमिटरसम्मको २५ रुपैयाँ कायम गरिएको छ। यसैगरी १५ किलोमिटरसम्मको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा कायम गरिएको छ।
गत चैत २४ गते श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको थियो। नयाँ भाडादर भने वैशाख १ गतेबाट लागू हुने निर्णय गरिएको थियो।