कानुन नागरिक समाजलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउनका लागि आउने हो । तर, गत वर्ष जारी मुलुकी अपराध संहिताको दफा २१९ ले रिस उठेको मान्छेलाई सताउने मेलो खोलेको छ । मन मिलुन्जेल प्रेम, मन भाँचिएपछि ‘जक’ को चलन यति बढ्यो कि देशभरका प्रहरी हिरासतदेखि कारागार यस्तै कसुरदारले भरिभराऊ छन् ।
सभामुख कृष्णबहादुर महरादेखि चतराधामका ‘सिद्धबाबा’ भनिने कृष्णदासजी महाराजसम्म अहिले कानुनी दायरामा छन् । उनीहरुको कसुर वास्तविक हुन् या बनावटी भन्ने कुरा त सम्मानित अदालतको अन्तिम फैसलाबाटै आउला । तर, ‘बाख्रीको पुच्छर काटे बोकालाई सजिलो’ भनेजस्तो आरोप लगाइदिएपछि मुद्दा चल्न अर्थोक नचाहिने स्थितिले यही नाममा मोलमोलाइको धन्दा बढेको छ । यस्तो मुद्दाले गर्दा महरालाई राखिएको डिल्लीबजार कारागारमा पनि कैदीको चाप थेग्न नसक्ने गरी बढेको छ । त्यहाँ प्रहरीका पूर्वआइजिपी रमेशचन्द ठकुरीदेखि प्रहरी हत्याको अभियोग लागेका सांसद रेशम चौधरीसम्मका कैदी छन् ।
मुलुकी अपराध संहिताको दफा २१९ लागेर पुगेका कैदीसँग कारागारभित्रै रकमको मोलतोल बढ्न थालेपछि त्यस्तालाई त्यहाँका जेलर अरुण पोखरेलले भेटघाटै बन्द गराइदिएका छन् । भक्तपुर जिल्ला अदालतले कारागार चलान गर्नेमध्ये ८० प्रतिशत यही कसुरसँग सम्बन्धित छन् ।
एउटा ताजा घटना हेरौँ । बालाजु, नेपालटारभित्रको भेटघाट चोकमा डेरा बस्ने र त्यहीँको मानसिंह स्कुलमा ९ कक्षामा पढ्ने १८ वर्षीया शर्मिला ओली (नाम परिवर्तन) एक वर्षदेखि नुवाकोट बेलकोटगढी– २, कुमारीगाउँका २५ वर्षीय विष्णु न्यौपानेसँगको नियमितसम्पर्कमा थिइन् । विष्णुचाहिँ अस्पतालहरुलाई सर्जिकल सामान सप्लाई गर्ने कम्पनीमा काम गर्ने र त्यही कम्पनीको गाडी चलाउने गर्छन् । नेपालटारको ग्रामीण आदर्श क्याम्पसमा पढ्ने र प्रहरी कार्यालय छेउछाउ लेखन्दासको काम गर्ने शर्मिलाकी दिदीसँग विष्णुका एकजना साथीको प्रेम सम्बन्ध थियो । शेषमतिमा रहेको एक क्याफेमा साथीसँग उनको प्रेमिका भेट्न जाने क्रममा बहिनी पनि भेटिएकी थिइन् । त्यसबेला शर्मिलासँग मोबाइल थिएन ।
त्यसैले कहिले दिदीको त कहिले आमाको मोबाइलबाट फोन गर्थिन् । यो कुरा थाहा पाएपछि दिदीले शर्मिलालाई गाली गरिन् र करिव १० महिना उनले विष्णुलाई फोन गरिनन् । ०७५ कात्तिकमा आफ्नै मोबाइल लिइन् र विष्णुलाई फोन गरिन् । विष्णु विवाहित हुन् । बुटवलकी शोभा थापा (नाम परिवर्तन) सँग चार वर्षपहिला विवाह भएको थियो । शोभा हाल जापानमा छिन् । शर्मिलाले आफ्नै मोबाइल लिएपछि विष्णुसँग नियमित कुराकानी हुन थाल्यो ।
विष्णुले आफ्नै कोठामा उनीसँग सहमतिमै सम्पर्क राखे । अन्तिमपटक गत असोज ३० गते सम्पर्क भएको थियो । त्यसपछि गर्भ रह्यो । र, उनीहरुले एक मेडिकल सेन्टरमा आफूहरु पतिपत्नी भएको र सहमतिमै गर्भपतन गराउन चाहेको कागजमा सही गरे । गर्भपतन भयो । भोलिपल्टदेखि शर्मिलाकी दिदीले विष्णुसँग कुरा गर्न थालिन् । भनाइ थियो, ‘मेरी बहिनीलाई दुई जिउकी बनाएर किन गर्भपतन गराइस् ?’
विष्णुको भनाइ थियो, ‘सहमतिमै भएको ।’ यसपछि माग भयो, ५० लाखको । अर्काको गाडी चलाएर गुजारा गर्ने विष्णुले त्यत्तिका पैसा दिनसक्ने अवस्था थिएन । गर्भपतनपछिका दिनमा शर्मिला विष्णुको सम्पर्कमा आइनन्, जे–जे कुरा गरिन्, उनकी दिदीले नै गरिन् । शर्मिलाकी दिदीको बार्गेनिङ २५ लाखसम्म पुगेको थियो । तर, विष्णुले जापानमा रहेकी पत्नीलाई ढाँटेर भए पनि १० लाखसम्म मगाउने बताए । शर्मिलाकी दिदीले मानिनन् ।
यसपछि शर्मिलाको जाहेरी लिएर दिदी आफँै बालाजु पुगिन् । त्यहाँका प्रहरीले पीडित उपस्थित हुनुपर्ने भन्यो । तर, प्रहरीको भनाइ थियो, मुलुकी अपराध संहिताको दफा २१९ अनुसार शर्मिलाको जाहेरी त दर्ता हुन्छ । तर, उनीहरुले सात महिनाको बच्चाको अवैध गर्भपतन गराएका छन् । गर्भपतन गराउने क्रममा आफूहरु पतिपत्नी भएको कागजमा सही गरेका छन् । मुलुकी अपराध संहिताको दफा १८८ अनुसार गर्भपतन गराउन नहुने कसुरमा स्वयं शर्मिला पनि प्रतिवादी हुने छिन् । २५ हप्ताभन्दा बढीको गर्भपतन भए पाँच वर्ष कैद र ५० हजार जरिवानाको कानुनी व्यवस्था छ । प्रहरीले जाहेरी दर्ता ग¥यो ।
तर, शर्मिलालाई प्रतिवादी बनाएर पक्राउ पुर्जीका लागि सरकारी वकिलकहाँ लेखी पठाउँदा सरकारी वकिल र प्रहरीका उच्चपदस्थ हाकिमले पनि उनलाई प्रतिवादी नबनाउन दबाब दिए । यसपछि शर्मिला प्रतिवादी बनिनन् । विष्णु पक्राउ परे । केही दिनअघि पुर्पक्षका लागि केन्द्रीय कारागार चलान भएका छन् । तर, कालिमाटी र टेकु प्रहरी कार्यालयतिर लेखापढी व्यवसाय गर्ने शर्मिलाकी दिदी अहिले पनि विष्णुसँग मोलतोल मिलाउन कारागार जाने गरेकी छन् । यदि उनीहरुको आर्थिक कारोबार मिल्यो भने शर्मिलाले जाहेरी फिर्ता लिन्छिन्, बयान फेर्छिन् र विष्णु थुनामुक्त हुन्छन् । यदि त्यसो भएन भने उनीमाथि कानुनी कारवाही हुन्छ ।
(बुधबार प्रकाशित जनआस्था साप्ताहिकबाट)