free website hit counter

बालेन र रविबीच बढ्दो दूरी घटाउने प्रयास

beemaadmin
२०८३ श्रावण २५, सोमबार

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच करिब ५० मिनेट छलफल भएको हो।

पछिल्लो समय प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच दूरी बढ्दै गएको चर्चा भइरहेका बेला लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्। भेटमा सरकार र पार्टीबीचको समन्वयलगायत विषयमा छलफल भएको रविनिकट एक नेताले जानकारी दिएका छन्।

Advertisement
Advertisement

पछिल्लो समय विभिन्न विषयमा प्रधानमन्त्री शाह र लामिछानेबीच मतभिन्नता देखिँदै आएको छ। रास्वपा पक्षले प्रधानमन्त्री शाह सचिवालयको घेरामा सीमित भएको आरोप लगाउँदै आएको छ। पार्टीका केही सांसदहरूले समेत संसदमा सरकारको कार्यशैलीप्रति निरन्तर असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

Advertisement
Advertisement

विशेषगरी जनजीविकासँग जोडिएका विषयमा सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको रास्वपा सांसदहरूको गुनासो छ। सभापति लामिछानेले पनि सरकारले गलत बाटो लिए आफूले ‘कानमा समातेर ट्रयाकमा ल्याउने’ भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।

उता, प्रधानमन्त्री शाह पक्ष भने सरकारकै साझेदार दलका सांसदहरूबाट निरन्तर आलोचना भएपछि असन्तुष्ट रहेको बताइन्छ। गत शुक्रबार राति प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू ‘एक्लिएको’ संकेत गर्ने अभिव्यक्ति दिएका थिए।

यस्तो पृष्ठभूमिमा प्रधानमन्त्री शाह र लामिछानेबीच भएको पछिल्लो भेटलाई सरकार र पार्टीबीच देखिएको असमझदारी तथा बढ्दो तिक्तता कम गर्ने प्रयासका रूपमा हेरिएको छ। यद्यपि, भेटमा भएका विस्तृत छलफल र निष्कर्षबारे भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

सम्बन्धित समाचार