काठमाडौं । निश्चित परिधिभित्र रहेर बीमा कम्पनीहरुले मनग्गे आम्दानी गर्न कठिन भएको गुनासोकाबीचमा नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमको लगानीको क्षेत्र फराकिलो पार्न लागेको छ । कम्पनीहरुले लामो समयदेखि माग गर्दै आएको लगानीको दायरा बढाउनुपर्नेलाई मागलाई नेपाल बीमा प्राधिकरणले सम्बोधन गरेको हो । कम्पनीहरुले सिमित क्षेत्रमा मात्रै लगानी गर्नुपर्ने बाध्यता रहेको भन्दै दायरा बढाउन आग्रह गर्दै आएका थिए । उनीहरुले विशेषगरी उत्पादनमूलक विभिन्न क्षेत्रमा लगानी गर्ने बाटो खोल्दिन आग्रह गर्दै आएका थिए । लगानीको दायरा संकुचित हुँदा बीमा कम्पनीहरु पनि बैंकहरुमा मुद्दती गरेर ब्याज खान बाध्य हुँदै आएका थिए । कम्पनीहरुको मागअनुसार नै आफूहरुले दायरा बढाउने निर्णय गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनले विगत लामो समयदेखि बीमा कम्पनीहरुले गर्ने लगानीको दायरा निकै सानो रहेको पनि स्वीकार गरेका छन् । प्राधिकरणले लगानी नीतिमा सुधार गरी विभिन्न उत्पादनमूलक क्षेत्रमा समेत लगानी गर्न पाउने व्ययवस्था गरेको उनले जानकारी दिए । पौडेलले बीमा कम्पनीहरुको लगानीको दायरा जति फराकिलो भयो, त्यति नै उत्पादन वृद्धिमा पनि सहयोग पुग्ने र कम्पनीको आम्दानीमा पनि सुधार हुने बताए । लगानी गर्दा भने कम्पनीहरुले जोखिम मूल्यांकन गरेर गर्नुपर्ने पौडेलले सुझाव दिए ।
देशको उत्पादकत्व पनि वृद्धि हुने र कम्पनीहरुले पनि मुद्दती निक्षेपमा भन्दा राम्रो प्रतिफल हासिल गरेर लगानीकर्तालाई राम्रो मुनाफा दिनसक्ने हुन्छ । तर यसरी जनताको पैसा लगानी गर्दा भने जोखिम मूल्यांकन गरेर कम जोखिमयुक्त क्षेत्रहरुमा पोर्टफोलियो मिलाएर गर्नु जरुरी हुने पौडेलको भनाईका छ । पछिल्लो समयमा सरकारी कोषदेखि पब्लिक कम्पनीसम्मले बैंकमा पैसा राखेर ब्याज खाने प्रवृत्ति गलत भएको भन्दै यस्तो गलत प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने आवाज पनि चर्कोरुपमा उठ्न थालेको छ । प्राधिकरणको नयाँ लगानी नीतिअनुसार बीमा कम्पनीहरुले सरकारी निकायबाट स्वीकृति प्राप्त घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीत भण्डार, पर्यटन उद्योग, जलविद्युत जस्ता नवीकरण उर्जामा लगानी गर्न पाउँछन् । त्यस्तै, उनीहरुले केवलकार, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न पाउने पौडेलले बताए । उनले यस्ता क्षेत्रमा लगानी गर्दा बीमा कम्पनीहरुबाट अन्य क्षेत्रले समेत लाभ पाउने बताए । विशेषगरी, जीवन बीमा कम्पनीहरुले बीमितको २० वर्षसम्मको जोखिम बहन गर्ने भएकाले पनि उत्पादनमूलक क्षेत्रले बीमा कम्पनीहरुको सहकार्यमा लगानी गर्न चाहेमा पाँच बर्षे योजनादेखि दीर्घकालिन योजनामा समेत लगानी गर्नसक्ने पौडेलले बताए । उनले प्राधिकरणको नयाँ निर्देशनले समग्र बीमा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने बताए ।