free website hit counter

बीमा अभिकर्ताले पालना गर्नुपर्ने कुराहरू

beemaadmin
२०७७ कार्तिक ११, मंगलवार

बीमा कम्पनीले इजाजत प्रदान गरी बीमा लेख बिक्री गर्न बजारमा पठाएको व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । यसरी बीमा गराउन प्रेरित गर्ने उद्देश्ले नैतिक मूल्य–मान्यता गुमाउनुहुँदैन, जसको बुँदागत निम्नरूपमा दिइएको छ–
क) सर्वप्रथम बीमितलाई वा प्रस्तावकलाई प्रत्यक्ष भेट गरी सम्वाद गर्नुपर्दछ । कुनै ग्राहकले बीमकसँग गलत फाइदा उठाउन खोजेका हुन सक्छन्, सोको मनोवैज्ञानिक अध्ययन गर्नुपर्दछ । ग्राहकको आदत, पेसा, उमेर, स्वास्थ्य, पारिवारिक स्थितिको जानकारी लिनु जरुरी छ । केही समयको कुराकानीमा उक्त व्यक्ति बीमायोग्य छ कि छैन भन्ने पत्ता लगाउन सकिन्छ ।
(ख) आफ्नो अनुपस्थितिमा प्रस्ताव फारम भरेर ल्याएमा सहर्ष स्वीकार नगर्नुहोस् किनकि बीमालाई व्यापारिक खेती बनाउनबाट रोक्नुपर्दछ । कतिपय दीर्घरोगी, मृत्युको मुखमा पुगेकाहरू, बिरामी शय्यामा सुतेकाहरूले पनि बीमा प्रस्ताव गर्न सक्छन् । सीमित पैसाको लोभमा नपरी आफ्नो हैसियत कायम राख्नुपर्दछ । कतिपय दाबी भुक्तानीहरू यससम्बन्धी सम्बन्धित पाइएको छ । रोग र मृत्यु भनेको कुनै पनि उमेरकालाई कुनै पनि प्रकारको हुन सक्दछ । मात्र बीमकले छुट दिएको उमेरको अवस्थाले गर्दा पनि दीर्घरोगी बीमित हुन पुग्दछन् र भुक्तानीमा अभिकर्तालाई सामाजिक लाञ्छना लाग्दछ ।
(ग) नैतिक आचरण खराब, कुख्यात अपराधीहरू, ग्याङ फाइटरहरू, अनैतिक क्रियाकलापमा समावेश भएकाहरूको बीमा प्रस्ताव फारम भर्नुहुँदैन, यो बढी जोखिमपूर्ण हुन्छ । यदि प्रस्ताव फारम भर्नुपरेमा अभिकर्ताको गोप्य प्रतिनिवेदनमा आफूले जाने–बुझेका कुराहरू लेखिदिनुपर्दछ ।
(घ) जीवन बीमा अभिकर्ताले आफ्नो ग्राहकलाई सन्तुष्टि दिन सक्नुपर्दछ, जसमा उसको आर्थिक हैसियतअनुसारको बीमा लेख बिक्री गर्नु प्रमुख हुन्छ । कमिसनको लोभमा कम आम्दानीको व्यक्तिलाई बढी रकमको बीमा प्रस्ताव गर्नु हुँदैन । आर्थिकरूपमा कमजोर व्यक्तिले ठूलो रकमको बीमा गरेमा २–३ वर्ष पनि तिर्न सक्दैन अनि सर्मपण गर्ने सम्भावना हुन्छ । बुझाएको भन्दा कम रकम उसले फिर्ता पाउँछ । यस्ता कार्यले समाजमा बीमाको नकारात्मक सन्देश फिजाउँदा त्यसै समाजमा अर्को ग्राहक भेट्न गाह्रो हुन्छ । यदि व्यक्तिको हैसियतअनुसार लामो अवधिको बीमा गराएमा इष्टमित्र, नातेदार, साथी, सहकर्मीलाई आकर्षित गर्दछ । उसले पनि नियमित भुक्तानी गरी सुरक्षित रहन्छ र अभिकर्ताको पनि पूर्णकालीन ग्राहक बन्दछ ।
(ङ) बीमा प्रस्ताव भर्दा व्यवसाय परिवर्तन नगरी उल्लेख गर्नुपर्दछ । यदि जोखिमयुक्त व्यवसाय भएमा बीमकले तोकेको शुल्क अनिवार्य लगाउनुपर्दछ, जसले गर्दा बीमित, बीमक र अभिकर्ता सुरक्षित रहन्छन् ।
(च) बीमा अभिकर्ताले प्रस्तावको आर्थिक स्रोत बुझेर मात्रै प्रस्ताव फारम भराउनुपर्दछ । नियमित शुल्क बुझाउन नसक्नेहरूलाई बीमा गराउनुहुँदैन बरु सानो बीमाङ्कको लामो अवधिको बीमा गराउँदा सामान्यतया शुल्क कम भई बीमा निरन्तर हुन जान्छ । बीमा अभिकर्ताले कमिसनलाई मात्र ध्यान नदिईकन सामाजिक सेवाको भावना पनि राख्नुपर्दछ ।
(छ) बीमा अभिकर्ताले प्रस्ताव फारम भर्दा प्रायः निश्चित बीमायोग्य व्यक्तिको भर्नुपर्दछ, जसमा धेरै दुब्लो, धेरै मोटो, स्वास्थ्य खराब, पेसाविहीन, नैतिकहीन हुनुहुँदैन ।
(ज) बीमालाई व्यक्तिगत स्वार्थमा निहित हुन नदिन बीमा अभिकर्ता प्रमुख जिम्मेवार हुनुपर्दछ । धेरै बुझेका र कम बुझेका ग्राहकसँग शर्तक हुनुपर्दछ ।
(झ) प्रस्तावक–बीमितको उमेरको प्रमाणपत्रको यकिन हुनुपर्दछ । आँकलन गर्न सकिन्छ न कि कसैले यसको दुरूपयोग नगरोस् ।
(ञ) बीमा प्रस्ताव फारम बीमकले स्वीकृत गरेर बीमा लेख प्राप्त भएपछि मात्र बीमायोग्य भएको मानिन्छ । कतिपय बीमकले शुल्क पहिल्यै लिने र अन्डरराइटिङ पछि गर्ने गरेको पाइन्छ । तर शुल्क बुझाए पनि बीमकको बीमालेख नदिईकन वा बीमा लेख नं. प्राप्त नभई यसको आधिकारिक मान्यता हुँदैन ।
(ट) बीमितहरू एक पटक बीमा शुल्क बुझाई बीमा लेख लिएपछि लामो समयसम्म शुल्क नबुझाउँदा पनि जोखिम वहन भएको ठान्दछन् । शुल्क नबुझाई कुनै घटना घटे दाबी भुक्तानी परेमा बीमितले उक्त सुविधा प्राप्त गर्दैन अनि बीमितले समाजमा बीमा गरेको तर बीमा कम्पनीले भुक्तानी नदिएको भनी प्रचार गर्दछ । यो बीमितको बुझाइको कमी हो । तर बीमा अभिकर्ताले यस्तो अवस्था आउन नदिन ग्राहकलाई समयमा भेटी शुल्क बुझाउनुपर्दछ साथै शुल्क नबुझाएमा हुने नोक्सानीको बारेमा पनि जानकारी गराउनुपर्दछ ।
(ठ) बीमा अभिकर्ताले बीमितहरूको बीमा शुल्क यथाशीघ्र बीमा कम्पनीमा भूक्तानी गर्नुपर्ने छ, जसले गर्दा जोखिम वहनमा ग्यारेन्टी हुन्छ । कतिपय अवस्थामा बीमितले अभिकर्तालाई शुल्क बुझएको तर अभिकर्ताले बीमकमा नबुझाई बीमा लेख निष्क्रिय भएको देखिन्छ । यसै अवस्थामा घटना घटेमा अभिकर्ता सम्पूर्ण कुराको जिम्मेवार हुनुपर्दछ । साथै, प्रचलित कानुनबमोजिम कारबाही हुने छ ।

 

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार