free website hit counter

बीमा क्षेत्रका क–कसको सेयर रोक्काका लागि भयो पत्राचार

beemaadmin
२०८३ जेष्ठ १४, बिहीबार

सीआईबीले विभिन्न बीमा तथा वित्तीय संस्थासँग आबद्ध ५६ जना उच्चपदस्थ व्यक्तिको सेयर रोक्का गर्न नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूको धितोपत्र लगानी रोक्का राख्न र आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।

सीआईबीले २०८३ जेठ ११ गते धितोपत्र बोर्डलाई पत्र पठाउँदै बोर्डकै जाहेरीका आधारमा दर्ता भएको मुद्दामा अनुसन्धानका लागि उक्त कदम चालिएको जनाएको छ । वादी नेपाल सरकार र प्रतिवादी दीपक भट्टसमेत रहेको मुद्दाको अनुसन्धानका क्रममा बीमा तथा वित्तीय क्षेत्रका चर्चित व्यवसायी, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरूको सेयर कारोबारमाथि निगरानी बढाइएको हो ।

Advertisement
Advertisement

ब्यूरोले धितोपत्र बोर्डको अनुसन्धान तथा कारबाही शाखालाई सम्बोधन गर्दै विभिन्न कम्पनीका सञ्चालक, लगानी समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृतहरूको सेयर रोक्का गर्न निर्देशन दिएको जनाएको छ ।

Advertisement
Advertisement

हिमालयन री–इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलसहित सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला तथा लगानी समिति सदस्य मनिष कुमारको सेयर रोक्का गर्न भनिएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, बद्री सिग्देल, प्रविना दाहाल तथा सुजल मल्ल पनि अनुसन्धानको दायरामा परेका छन् ।

त्यसैगरी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सञ्चालक डा. जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोदप्रसाद भट्टराई, ज्योती अग्रवाल, नवराज मुडभरी, प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा लगानी समिति सदस्यहरू ज्योतीप्रकाश पाण्डे र समीर खरेलको नाम पनि सूचीमा समावेश गरिएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक तथा लगानी समितिसँग आबद्ध विवेककुमार शाह, लक्ष्मण ज्ञावली, राजीवप्रसाद प्याकुरेल, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला केसी र दिगम्बर झा पनि सीआईबीको अनुसन्धानमा परेका छन् ।

यसैगरी हिमालय सेक्युरिटी बैंकरका सित्ताराम वाग्ले र आकांक्षा गुप्ता, हिमालयन क्यापसर्भका अध्यक्ष शिशिर गैह्रे तथा हिमालयन इन्भेष्टमेन्ट बैंकरका अध्यक्ष कपिलकुमार दाहालसहित अन्य पदाधिकारीहरूको सेयर पनि रोक्का गर्न भनिएको छ ।

सूचीमा क्रेष्ट माइक्रो इन्स्योरेन्सका विदुर पुरी तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सकी कीर्तिका अग्रवाल र दिनेश सरियाको नामसमेत समावेश गरिएको छ ।

सम्बन्धित समाचार