चालू आवमा बीमा कम्पनीले आठ/नौ महिना कारोबार गरिसकेका छन् । लकडाउनका कारण बीमाका प्रायः सबै प्रकारका गतिविधि रोकिँदा विशेष गरी दुर्घटना बीमाको दाबी पनि घटेको अवस्था छ । त्यसैले नोक्सान नै भए पनि त्यति ठूलो नोक्सानीको अवस्था भने छैन ।
तर अहिलेको कोरोना महामारीको अवस्थाका कारण आगामी दिनमा मानिसको क्रय शक्तिमा कमी आउने निश्चित छ । त्यसको दूरगामी प्रभाव बीमा कम्पनीलाई परिहाल्छ । हाम्रोमा बीमालाई खर्चका रूपमा लिइन्छ । वास्तवमा बीमा लगानीे हो । २०७२ सालको भूकम्पले पनि हामीलाई केही सिकाएको हो तर त्यसपछि पनि अझै अपेक्षित रूपमा घर बीमा गर्ने प्रवृत्ति बढ्नसकेको छैन । यद्यपि त्यो बेला पनि कम्पनीले १७ सयदेखि १८ सय करोडसम्मको बीमा दाबी भुक्तानी गरेको अवस्था हो । निर्जीवन बीमा गरेर जोखिम हस्तान्तरण गर्नका लागि सरकारी पक्षबाट पनि सहयोग जरुरी छ । निर्जीवन बीमाका लागि सरकारले कर छुटको योजना ल्याएर प्रोत्साहन गर्नसक्छ । यस्तो गर्न थालेको चार/पाँच वर्षपछि त्यसको प्रतिफल पनि बीमा कम्पनीले दिन सक्छन् ।
अबका दिनमा कृषि र स्वास्थ्य बीमाका दायरा बढ्लान् भन्ने अपेक्षा गरिएको छ । बीमा कम्पनीहरूको नेटवर्थ पनि क्रमशः बढिरहेको छ । कोरोनाको महामारीपछि विगत चार सातामा ५२/५३ हजार व्यक्तिको बीमा गरिएको छ । यसबाट करिब तीन करोड रुपियाँको प्रिमियम सङ्कलन भएको छ । बन्दाबन्दीको अवस्था, हिँडडुल गर्न नसकिएको अवस्थामा पनि अनलाइन कारोबारको सीमितता हुँदाहुँदै पनि यति कारोबार हुनुलाई राम्रै मान्नुपर्छ । यसलाई हाल एउटा प्रयोगको रूपमा हेरिँदै छ । पुनर्बीमा नपाएको अवस्थामा पनि नेपालका बीमा कम्पनीले यसलाई एउटा प्रयोगका रूपमा हेरेका छन् । यसको सूक्ष्म अध्ययन गर्दै अगाडि बढ्नसकेमा यसबाट हाल सङ्कलन भएको प्रिमियमलाई छुट्टै कोष बनाएर स्थापना गरेमा दीर्घकालीन रूपमा राम्रै बाटो लेला भन्ने विश्वास गर्न सकिन्छ ।