काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमकहरुलाई नियम कानुनको परिधिमा राख्न हरसम्भव प्रयास जारी राखेका बेला प्राधिकारण्का कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानीलाई सरल एवम् छिटो छरितो बनाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेशको गोरखाको गोरखा नगरपालिकामा माघ १६ गते भएको बीमा सम्बन्धी जनचेतना मूलक अन्तरक्रिया कार्यक्रम उक्त निर्देशन दिएका हुन् । प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले बीमा गरेपछि क्षति भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाइने भएकाले घर, कृषिबाली, जडिबूटी, पशुपन्छी र व्यवसायको बीमा गर्न आग्रह गर्दै कृषि तथा पशुपन्छी बीमामा विशेष जोड दिन र दाबी भुक्तानीलाई सरल एवम् छिटो छरितो बनाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएका हुन् । यस्तै गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बीमा गरेपछि क्षतिभएमा क्षतिपूर्ति पाइने भएकाले सबैले अनिवार्य रुपमा बीमा गर्नुपर्ने बताए । साथै, उनले बीमाको महत्वका बारेमा गाउँ गाउँमा जनचेतना फैलाएर बीमा गर्न प्रोत्साहित गर्नुपर्ने आवश्यकता औंल्याए । यसैगरी, गोरखा नगरपालिकाका उपप्रमुख मसली माया थोकरले बीमा दाबी भुक्तानीमा ढिलाई हुँदा बीमा प्रतिको विश्वसनीयतामा समस्या देखिएको उल्लेख गर्दै बीमा गराउनका लागि अनावश्यक होडबाजी नगर्न बीमा कम्पनीहरुलाई आग्रह गरे । साथै, उनले बीमालाई अनिवार्य गर्न तथा बीमा सम्बन्धी जानकारी मूलक कार्यक्रमहरु संचालन गर्नका लागि साझेदारीका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा सहभागीहरुले बीमा सम्बन्धी जानकारीको अभावका कारण स्रोत भएर पनि बीमा नगरेको, पशुबीमाको दाबी भुक्तानी पाउन झण्झट व्यहोर्नु परेको, समान बीमा लेखको बीमा शुल्कमा एक रुपता नभएको, बीमा दाबी भुक्तानी नपाएको भनेर नगरपालिकामा गुनासाहरु आउने गरेको लगायतका धारणा राखेका छन् ।