free website hit counter

बीमा दाबीमा सर्भेयर खटाउने प्रक्रिया अब स्वचालित हुँदै

beemaadmin
२०८३ आश्विन १४, बुधबार

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ सञ्चालनमा ल्याउने तयारी गरेको छ।

प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षण सुरु गरेको हो। सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी, व्यवस्थित र सुशासनमा आधारित बनाउन स्वचालित प्रणाली विकास गरिएको प्राधिकरणले जनाएको छ।

नयाँ प्रणालीबारे असोज १३ गते निर्जीवन बीमा कम्पनीका सूचना प्रविधि (आईटी) प्रमुख र दाबी (क्लेम) प्रमुख गरी ३६ जनालाई अनलाइनमार्फत तालिम दिइनेछ। त्यसपछि सर्भेयरहरूलाई समेत प्रणाली सञ्चालनसम्बन्धी तालिम दिने तयारी छ। आगामी चरणमा पुनर्बीमा कम्पनीलाई समेत प्रणालीमा समेट्ने प्राधिकरणको योजना छ।

विज्ञता र उपलब्धताका आधारमा सर्भेयर छनोट

नयाँ प्रणालीले सर्भेयरको विशेषज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता, पोर्टफोलियो तथा यसअघि प्राप्त गरेको कामलगायतका आधारमा उपयुक्त सर्भेयर छनोट गर्नेछ।

हाल सर्भेयर छनोट वैज्ञानिक र पारदर्शी नभएको तथा केही सर्भेयरले धेरै र केहीले निकै कम काम पाउने गरेको गुनासो आउने गरेको प्राधिकरणले जनाएको छ। बीमा कम्पनीहरूले आफूले रोजेका सर्भेयरलाई मात्र काम दिने गरेको गुनासोसमेत रहेकाले त्यसलाई सम्बोधन गर्न स्वचालित प्रणाली विकास गरिएको हो।

हाल व्यक्तिगत सर्भेयरले पाँचवटा र संस्थागत सर्भेयरले १० वटासम्म काम गर्न पाउने व्यवस्था छ। तर उनीहरूले प्राप्त गरेको कामको प्रभावकारी तथ्यांक राख्न कठिन हुँदै आएको अवस्थामा नयाँ प्रणालीले कामको विवरणसमेत व्यवस्थित रूपमा अभिलेख गर्नेछ।

प्राधिकरणका अनुसार प्रणालीमा हालसम्म ८८ जना संस्थागत सर्भेयरसहित करिब ६८० सर्भेयरको विवरण प्रविष्ट भइसकेको छ।

दाबी दर्ता भएपछि प्रणालीले सर्भेयर छान्ने

कुनै बीमा दाबी प्रणालीमा दर्ता भएपछि सम्बन्धित घटनाका लागि उपयुक्त सर्भेयर तोकिएका मापदण्डका आधारमा प्रणाली आफैँले छनोट गर्नेछ।

उदाहरणका लागि, सवारी दुर्घटनासम्बन्धी दाबी आएमा सोही विषयमा विशेषज्ञता भएको, सम्बन्धित क्षेत्रमा उपलब्ध रहेको, आवश्यक वरिष्ठता पुगेको र तत्काल काम लिन सक्ने सर्भेयरमध्ये प्रणालीले उपयुक्त व्यक्ति छनोट गर्नेछ।

यसले बीमा कम्पनीका अधिकारीले प्रत्येक पटक म्यानुअल रूपमा सर्भेयर छनोट गर्नुपर्ने अवस्था अन्त्य गर्ने अपेक्षा गरिएको छ।

सर्भेयरको काम पनि ट्रयाक हुने

नयाँ प्रणालीमा सबै सर्भेयरको प्रोफाइल तयार गरी उनीहरूको विशेषज्ञता, वरिष्ठता, उपलब्धता, भौगोलिक क्षेत्र, पोर्टफोलियो र यसअघि प्राप्त गरेका कामको विवरण राखिएको छ।

सर्भेयरले कति काम पाएका छन्, कुन काम सम्पन्न गरेका छन् र नयाँ काम लिन सक्ने अवस्थामा छन् वा छैनन् भन्ने विवरणसमेत प्रणालीमार्फत ट्रयाक गर्न सकिनेछ।

यसले एउटै सर्भेयरलाई पटक–पटक काम दिने वा अन्य सर्भेयरलाई पर्याप्त अवसर नदिने अवस्थाको पहिचान तथा नियन्त्रणमा सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।

समय र लागत घट्ने अपेक्षा

प्राधिकरणका अनुसार स्वचालित प्रणालीले सर्भेयर छनोटमा हुने ढिलाइ कम गर्नुका साथै बीमा दाबी मूल्याङ्कन प्रक्रियामा लाग्ने समय र लागत घटाउन सहयोग गर्नेछ।

सर्भेयर छनोटमा देखिने समस्या, पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था, दाबी प्रक्रियामा हुने ढिलाइ तथा सेवाग्राहीसँग उत्पन्न हुने विवाद न्यूनीकरणमा समेत प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ।

साथै, कुन सर्भेयर कुन आधारमा छनोट भयो भन्ने विवरण प्रणालीमै अभिलेख रहने भएकाले निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिता बढ्ने प्राधिकरणको विश्वास छ।

सुरक्षा परीक्षणपछि पूर्ण कार्यान्वयन

प्रणाली विकासका क्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सर्भेयर, क्लेम प्रमुख तथा आईटी प्रमुखलगायत विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरिएको थियो। प्राप्त सुझावका आधारमा सर्भेयर छनोटका मापदण्ड र प्यारामिटर तयार गरी सफ्टवेयर विकास गरिएको हो।

हाल बीमा कम्पनीहरूले आफ्ना सर्भेयरसम्बन्धी विवरण प्राधिकरणलाई उपलब्ध गराइरहेका छन्। प्रणाली सञ्चालनमा आएपछि यसको कार्यक्षमता र स्थिरतालाई नजिकबाट निगरानी गरिनेछ।

प्राधिकरणले प्रणालीको साइबर सुरक्षाका लागि फायरवाल, भल्नरेबिलिटी एसेसमेन्ट एन्ड पेनिट्रेसन टेस्ट (VAPT) लगायतका सुरक्षा परीक्षणसमेत गर्ने जनाएको छ।

दीर्घकालमा प्रणालीबाट सर्भेयरसम्बन्धी ठूलो परिमाणमा तथ्यांक संकलन हुने र त्यसबाट सर्भेयरको सेवा प्रवाह, सेवाग्राहीले पाउने सेवाको अवस्था तथा आगामी नीतिगत सुधारका लागि आवश्यक अध्ययन गर्नसमेत सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।

सम्बन्धित समाचार