काठमाण्डौ । अगुवा शेयर लागनीकर्ताहरुको समूहले शुक्रबार बिहान नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले नियमविपरीत बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको भन्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दर्ता गराएका छन् । उजुरीको दर्ता नंम्बर सी (०२४२४९ रहेको छ । लगानीकर्ताहरुले दर्ता गराएको लिखित उजुरीमा धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल,कार्यकारी निर्देशक राजुरमण पौडेल विरुद्ध बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको भन्दै छानविन गर्न र यसमा संलग्नहरुलाई कार्वाही गर्न माग गरिएको छ। उनीहरुले ‘बीमा ऐन, २०७९’ को व्यवस्थाविपरीत बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको भन्दै उजुरी दर्ता गराएका हुन् । सामुहिक रुपमा भेला भएका लगानीकर्ताहरु मध्ये अगुवा लगानीकर्ता, केशव कोइराला९काका०, तिलक कोइराला र अमिर तिमलसिनाको टोलीलाई उजुरी दर्ता गर्नका लागि अख्तियारले कार्यालयभित्र प्रवेश गर्न अनुमति दिएको थियो ।
प्राधिकरणको यो गैरकानूनी कामलाई नेपाल धितोपत्र बोर्डले समेत नजरअन्दाज गर्दै धमाधम बीमा कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिएको आरोप भेलामा सहभागी लगानीकर्ताहरुले लगाएका छन् । अगुवा लगानीकर्ता केशव कोइराला ९काका० ले बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको यस्ता खालको नियमविपरीत कार्यविरुद्ध अख्तियारमा उजुरी दर्ता गरिएको र सोमबार नै अदालतमा मुद्दा दायर गरिने बताए। काठमाण्डौमा गत बिहीबार भेला भएका सेयर लगानीकर्ताहरुले बीमा प्राधिकरण र धितोपत्र बोर्डको यो नियमविपरीत कार्यविरुद्ध अदालत जाने निर्णय गरेका थिए। बीमा ऐन, २०७९को दफा ४५को उपदफा ५मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि बीमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा सेयरको अंकित मूल्यको सतप्रतिशत रकम माग गर्नुपर्ने’ व्यवस्था छ। तर, यो व्यवस्थाविपरीत बीमा प्राधिकरणले सिटिजन लाइफ, रिलायबल लाइफ, आइएमई लाइफ र सन–नेपाल लाइफ इन्स्योरेन्सलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको थियो। यी कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेर पैसा उठाइसकेका छन्। यी सबै कम्पनीको सेयर हाल दोस्रो बजारमा कारोबारसमेत हुन थालेको छ । त्यसो त बीमा प्राधिकरणले स्वीकृत गरेपछि मात्रै धितोपत्र बोर्डले थप कागजपत्र अध्ययन गरेर बीमा कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिनुपर्ने हुन्छ। तर, धितोपत्र बोर्डले पनि बीमा प्राधिकरणको फाइललाई बिनाअध्ययन नै ती कम्पनीहरुलाई धमाधम प्रिमियममा आईपीओ निष्कासनको अनुमति दिएको देखिन्छ । प्रिमियममा आईपीओ बिक्री गरेका ती बीमा कम्पनीहरुले प्रिमियममा उठाएको पैसा लगानीकर्ताहरुलाई फिर्ता गर्नुपर्ने माग पनि लगानीकर्ताहरुको छ । धितोपत्र बोर्डको पाइपलाइनमा रहेको हिमालयन रि–इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ गर्न माग गरेको छ। तर, लगानीकर्ताहरुले हिमालयन रिइन्स्योरेन्सलाई बीमा ऐनविपरीत प्रिमियममा आईपीओ निष्कासन गर्न दिन नहुने माग गरेका छन् ।