काठमाडौं । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण आफ्नो ५५ वर्षे यात्रा पूरा गरी ५६औं वर्षमा प्रवेश गरेको छ । २०२५ साल जेठ १ गते स्थापना भएको बीमा प्राधिकरणले ५५औं वर्ष पुरा गरेको हो । वार्षिकोत्सवको अवसरमा प्राधिकरणले विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । प्रादेशिक कार्यालयमा रक्तदान कार्यक्रमदेखि लिएर खेलकुद आयोजना गरिएको छ । आइतबार विहान सम्पन्न प्रभातफेरी कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमाको पहुँच देशव्यापी पुर्याउन सबैलाई आग्रह गरेका छन् । बीमा प्राधिकरणको इतिहास ५५ वर्ष हुँदा पनि यसले आफ्नो भुमिकालाई खासै बढाउन नसकेको उनको आरोप छ । बीमा प्राधिकरणको स्थापना हुँदा अर्थमन्त्रालय अन्तर्गतको एउटा विभागको रुपमा स्थापना भएको थियो । अर्थमन्त्रालय अन्तर्गत सञ्चालन हुँदै आइरहेको प्राधिकरण बीमा ऐन २०४९ पश्चात स्वायत्त भयो । अर्थमन्त्रालय अन्तर्गत बीमालाई हेर्न गठन गरिएको समिति भएकाले यसको सुरुवातिदिनदेखि नै बीमा समिति रह्यो । तर बीमा ऐन २०७९ को कार्यान्वयन सँगै बीमा समितिको नाम रुपान्तरण भएर बीमा प्राधिकरण भयो । २०७९ कार्तिक २२ गतेदेखि लागु भएको बीमा ऐन २०७९ ले बीमा प्राधिकरण मात्रै बनाएन धेरै हदसम्म स्वायत्त र शक्तिशाली पनि बनायो । बीमा क्षेत्रलाई नियमन गर्नु भन्दा अगाडी नै नेपालमा बीमाको अवधारणा र अभ्यास सुरु भइसकेको थियो । सरकारले बीमा गर्नका लागि छुट्टै कम्पनी समेत स्थापना भइसकेको थियो । बीमा क्षेत्रको औपचारिक सुरुवात भने २००४ सालमा भएको हो । नेपाल बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सोर्ट कम्पनी लिमिटेडको नामबाट पहिलोपटक निर्जीवन बीमा कम्पनीको कारोबार सुरु भएको थियो । २०१२ मा नेपालमा भारतको ओरिएन्टल इन्स्योरेन्सले नेपालमा शाखा स्थापना गरी इन्स्योरेन्स कम्पनीको औपचारिक कारोबार सुरु गरेको थियो । नेपाल बीमा प्राधिकरण २०२४ सालमा तत्कालिन बीमा समितिको नामबाट स्थापना भएपछि २०२५ सालमा पहिलोपटक राष्ट्रिय बीमा संस्थानको स्थापना भएको थियो । सो संस्थानले २०३० सालदेखि औपचारिक रुपमा जीवनबीमा पोलिसीको कारोबार गर्न थालेको थियो । २०३० सालमै भारतको नेशनल इन्स्योरेन्स कम्पनीले पनि निर्जीवन बीमा कम्पनीको रुपमा कारोबार सुरु गर्यो ।