free website hit counter

बीमा बजार विस्तारमा चेतनाको अभाव

beemaadmin
२०७६ कार्तिक १७, आईतवार

नेपालमा बीमा चेतना फैलाउनु नै सबैभन्दा ठूलो आवश्यकता देखिन्छ । बीमा बजार विस्तारका लागि बीमा मुल्य सबैलाई सुलभ र सरल बनाउनुपर्छ । बीमा पोलीसीहरु पनि सबैले बुझ्ने बनाउनुपर्छ । बीमा कम्पनीहरु मात्रै नभएर सर्वसाधारण आफैँले पनि आफ्नो सम्पत्ति र जीवनको सुरक्षाका लागि आफैँ सजग हुनुपर्छ । अरुको करकापमा भन्दा पनि आफैँ महत्व बुझेर बीमा गर्न अग्रसर हुने वातावरण निर्माण गर्नुपर्छ । बिमक र बिमित दुबैको पहलमा बीमा क्षेत्रको दायरा फराकिलो बनाउन जरुरी छ । गाउँ–गाउँका मानिसहरुलाई बीमा भनेको थाहा नै छैन । सहरका मानिसहलई बीमा बारे केही कुरा थाहा भए तापनि ग्रामीण भेगका मानिसहरुमा बीमा शिक्षा अत्यन्त कम छ । कृषि बीमा आएपछि केही हदसम्म बीमा साक्षरता बढेको छ । नेपाल सरकारले कृषिमा ७५ प्रतिशत अनुदान दिएपछि बीमा बढ्दै आएको हो । साथै भुकम्पपछि मानीसहरुमा बीमा गर्नुपर्दो रहेछ भन्ने चेतनाको विकास हुँदै आएको छ । यद्यपि, धेरै मानिसहरुले अनुदानको आशमा कृषि बीमा गरे पनि घरको बीमा गरेका छैनन् ।

बीमा पहुँच बढाउनका लागि बीमा समितिले विभिन्न किसिमका योजनाहरु ल्याएको छ । बीमा लेखहरु सबैले बुझ्ने गरी सुलभ र सरल बनाएको छ । ग्रामीण भेगमा बीमा कम्पनीको उपस्थिती बढाउनका लागि गाउँमा दुई वटा शाखा विस्तार गरेपछि मात्रै सहरमा एउटा शाखा विस्तार गर्ने अनुमति दिने व्यवस्था छ । त्यस्तै, लघुबीमाको अवधारणालाई पनि प्राथमिकताका साथ अगाडि ल्याएको छ । पछिल्लो समय बीमा कम्पनीहरुको संख्या बढेसँगै सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ । डिमाण्ड नभई सप्लाई मात्रै बढी हुने हो कि भन्ने डर थियो । तर, बीमा समितिको नियमनभित्र बस्छौँ भन्ने कम्पनीहरुलाई अनुमति दिएपछि अहिले शाखाको विस्तार राम्रोसँग भएको छ । यसले गर्दा बीमा बजार फस्टाएको छ, बीमाको पहुँच बढिरहेको छ । स्वदेश होस् वा विदेश बीमाको सिद्धान्त एउटै हुन्छ । नेपाली बीमा कम्पनीहरु पनि अन्तरराष्ट्रिय मान्यता अनुसार नै चलेका छन् । बीमा समितिले विदेशमा पुनर्बिमा गर्नुपर्ने भएकाले भाषा पनि एउटै हुनुपर्छ । तर विदेशी बीमा कम्पनीहरुको क्षमता बढी भएका कारण बिमितलाई सुविधा पनि धेरै दिएका छन् । प्रविधिमैत्री बजार भएका कारण पहुँच पनि उनीहरुको बढी छ ।

सुरुमा नेपालमा केही विदेशी कम्पनीहरु मात्र थिए । ती विदेशी बीमा कम्पनीहरुले बीमा व्यवस्थापन राम्रोसँग गरेका थिएनन् । खासगरी उनीहरु एउटा एजेन्सीकै रुपमा थिए । नेपालबाट धेरै पैसा बाहिर जाने गरेको थियो । नेपाल एउटा कलेक्सन सेन्टर जस्तो मात्र थियो । त्यतिबेला एलआईसी अफ ईन्डीया नामक कम्पनीले बीमा क्षेत्रको परिवर्तनमा धेरै योगदान पुर्याएको थियो । त्यो समयमा एलआईसी गर्ने र बीमा गर्ने भन्ने शब्द पर्यावाची जस्तै थियो । २०२४ सालमा स्थापना भई ०२५ सालमा संस्थानमा परिणत भएदेखि बीमा संस्थानले नेपालको वास्तविक बीमाको रुपमा काम गर्दै आएको हो । बीमा संस्थानको राम्रो विकास हुँदै आएपछि अन्य बीमा कम्पनीहरु पनि स्थापना हुँदै आएका हुन् । अहिले बीमाको बजार फराकिलो भइसकेको छ । तर पनि सबै मानिसहरु बीमामा समेटिएका छैनन् । पहिलेको तुलनामा भने बीमाको पहुँच बढे पनि यो पर्याप्त भने छैन । बीमा समिति र बीमा कम्पनीहरुका कारण नभई मुलुककै कमजोर अवस्थाका कारण बीमाको पहुँच नबढेको हो । बीमा पहुँच वृद्धिका लागि बीमा समिति र बीमा कम्पनीहरु अग्रसर हुँदै आएका छन् । बीमा कम्पनीहरु धेरै खुलेका छन् तर क्षमता अभिवृद्धिको रुपमा अगाडि बढ्न सकेका छैनन् ।

वित्तीय रुपमा मात्रै अघि बढेका छन् । बीमा क्षेत्रका कर्मचारीहरुमा दक्षताको कमी छ । यसै तथ्यलाई मध्यनजर गर्दै बीमा समिति र बीमा कम्पनीहरुको सहकार्यमा बीमा तालिम इन्स्टिच्युटको सुरुवात गरिएको हो । पछिल्लो समय अनिवार्य गर्नुपर्ने बीमाका कारण बीमा बजार बढेको हो । मोटर बीमा अनिवार्य भएकाले गर्दा मोटर चलाउने चालकले बीम गरेका छन् । बैंकहरुले ऋण प्रवाह गर्दा लिने धितोको अनिवार्य रुपमा बीमा गरिएको हुनुपर्छ । यस्ता खालका व्यवस्थाले गर्दा बीमा बढेको छ । तर, यसैलाई बीमाको पहुँच बढेको मान्न सकिँदैन । एउटै गाडीको ५०।६० लाख पर्छ भने एक करोडभन्दा कममा घर पाइँदैन । यस्ता ठूलो सम्पत्तिको नोक्सान हुने डरले पनि मानिसहरुले बीम गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गरे जस्तै बीमा कम्पनहीरुको नियमन बीमा समितिले गर्दछ । सबै बीमा कम्पनीहरुलाई सही मार्गदर्शन गरी जनताको सुरक्षाका लागि रेखदेख गर्न र बीमा कम्पनीहरुका लागि नीति नियमहरु तर्जुमा गर्ने काम बीमा समितिले गर्दै आएको छ । बीमा उद्योगलाई स्वस्थ प्रतिस्पर्धामा ल्याउनु नै बीमा समितिको उद्देश्य हो । बीमा क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेलेको छ । बीमा क्षेत्रमा काम गर्ने कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी अन्तरराष्ट्रिय स्तरमा प्रतिष्पर्धी बनाउन बीमा ट्रेनिङ इन्स्टिच्युटको स्थापना भइसकेको छ । यस इन्स्टिच्युटले बीमासँग सम्बन्धित मार्केटिङ, अन्डरराइटिङ जस्ता विविध किसिमका तालिम दिने गर्दछ । बीमा क्षेत्रमा जागिर खोज्न आउने कर्मचारीहरुलाई काम गर्न दक्ष बनाउनु नै यसको मुख्य उद्देश्य हो । बीमाको बारेमा बुझ्न चाहने व्यक्तिहरुकमा लागि पनि विभिन्न कोर्शहरु संचालन गरि बीमा बारे चेतना फलाउनु यस इन्स्टिच्युटको उद्देश्य रहेको छ ।

(सार्वजनिक अभिव्यक्तिमा आधारित)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार