काठमाडौं । चार वर्षे कार्यकाल सकिनै लाग्दा बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमा अध्यक्ष चिरञ्जीवि चापागाई बिदामा बसेका छन् । मंगलबारदेखि अध्यक्ष चिरञ्जीवि चापागाई बिदामा बसेका हुन् । उनको चार वर्षे कार्यकाल सकिन एक साता बाँकी हुँदा उनी बिदामा बसेका हुन् । पुस २३ गतेबाट चापागाईले औपचारिक रुपमा बीमा समितिबाट विदा लिने छन् ।
अध्यक्ष चापागाईले समितिमा थप एक कार्यकाल काम गर्ने इच्छा राखे पनि नेकपा विभाजनपछि उनको शक्ति घटेको बताइन्छ ।
चार वर्षको अवधिमा बीमाको पहुँच ७ प्रतिशतबाट बढेर २७ प्रतिशत पुग्नु, कुल ग्राहस्थ्य उत्पादामा बीमा क्षेत्रको योगदान १.५ प्रतिशतबाट ३ प्रतिशत पुग्नु, यस अवधिमा बीमा क्षेत्रमा करिव ४ अर्ब रुपैयाँ थप लगानी हुनु, हजारौको संख्यामा रोजगारी वृद्धि गराए पनि हतारमा गरिएको कोरोना बीमाको निर्णयबाट उनको आलोचना भएको छ ।
बीमा समितिको नेतृत्व लिन चाहनेहरुको संख्या दर्जन बढी देखिए पनि राजनीतिक अन्योलका कारण समितिमा कसलाई ल्याउने भन्ने निधो भएको छैन ।