स्याङ्जा जिल्ला कालिगण्डकी गाउँपालिका–३ मा जन्मिनुभएका शिवनाथ पाण्डे हाल हाल ललितपुर भैंसेपाटीका बासिन्दा हुनुहुन्छ । चार्टर एकाउन्टेन्टसम्मको अध्ययन गर्नुभएका पाण्डे नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त हुनुभएको हो । हाल सूर्यलाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रहनुभएका पाण्डे भर्खरै गठन भएको जीवन बीमक संघ, नेपालको अध्यक्ष समेत हुनुहुुन्छ । पाण्डेसँग बीमा व्यवसायका क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा अर्थबीमा डट कमका सम्पादक नुरराज कँडेलले गर्नुभएको कुराकानी :
० बैंकहरू मर्फत् बीमा कम्पनीले बिमालेख (बैकास्योरेन्स) बेच्दै आएकोमा यस वर्षको मौद्रिक नीतिमा सो कार्यलाई निरुत्साहित गरेको छ, त्यसले बीमा कम्पनीहरूमा कस्तो असर पर्ला ?
– फरक परिसकेको छ । गत वर्ष बैकोस्योरेन्समार्फत् २३ करोड बीमा शुल्क जम्मा भएको थियो । त्यो त गुम्यो नि ! राष्ट्र बैंकको निर्णयले हामी घाइते नै छौं ।
० नेपाली बीमा बजार अझै विस्तार भएको छैन तिव्र विस्तारका लागि के कस्तो प्रयास गर्नुपर्ला ?
– बीमा बजार विस्तार भएको छ । जुन कुरा तथ्यांकले देखाउँछ । ३ वर्षअघि सावधिक जीवन बीमाको पहुँच ७ प्रतिशत र बैदेशिक रोजगार (म्यादी) बीमाको पहुँच ५ प्रतिशत गरी १२ प्रतिशतमा सीमित थियो भने हाल १९ वटा जीवन बीमा कम्पनी हुँदा पनि बीमा व्यवसाय बढेकै छ । हाल आएर २२ प्रतिशत सावधिक र ५ प्रतिशत म्यादी गरेर २७ प्रतिशत पुगिसकेको छ । अझै विस्तार हुँदैछ ।
० आम्दानी कम भएको र अर्थतन्त्र फस्टाउन नसकेको वर्तमान अवस्थामा बीमा बजार कसरी बढ्ला ?
– नेपालीहरूको बचत गर्ने प्रकृतिको बानी नहुँदा पनि यत्तिको बीमा बजार बढ्नु नराम्रो होइन । आम्दानी कम भए पनि बचत गर्न सक्यो भने गच्छेअनुसारको बीमा गर्न सकिन्छ । देशभरि शाखा विस्तार गरी जनचेतना फैलाएर बीमालाई भविष्यको बचत, लगानी, आर्थिक सुरक्षा बुझ्नु र बुझाउनु पर्दछ । बीमालाई अत्यावश्यक आवश्यकता ठानी बुझाउन सकियो भने पहुँच बढाउन सकिन्छ ।
० बीमा त गर्यो तर दाबी गर्ने प्रक्रिया निकै झन्झटिलो छ भनिन्छ ? कतिपय अवस्थामा त कागजात पुर्याउनै नसकेर बीमा दाबी लिन नसकिने अवस्था छ भनिन्छ नि ?
– जीवन बीमामा अपवाद बाहेक दाबी भुक्तानी नदिनु पर्ने कुनै कारण नै हुँदैन । बीमा लेखमा नै सबै निर्धारण गरिएको छ । र निश्चितै हुन्छ । न्युनतम कानुनी कागजात त जहाँसुकै आवश्यक हुन्छ । हामीलाई पनि सामान्य कागजातले दाबी भुक्तानी भइहाल्छ । झन्झटिलो भन्ने छैन । जीवन बीमामा दाबी भुक्तानी कसेको पनि बाँकी नहुन सक्छ । यो बुझाईको कमी हो ।
० सूर्य लाइफको चुक्ता पुँजी पुगेको छ ?
– हकप्रद र बोनस शेयर गरेर हाम्रो चुक्ता पुँजी पुगिसकेको छ ।
० बीमाको बजार सानो छ, नयाँ जीवन बीमा कम्पनीहरू थपिएका छन् यस्तो अवस्थामा अस्वस्थ प्रतिस्पर्धा त बढ्दैन ?
– बीमाको बजार अझै खाली छ । पतिस्पर्धाचाहिँ छ । अस्वस्थ प्रतिस्पर्धा जीवन बीमामा प्राय हुँदैन । बीमा शुल्क, अवधि, अभिकर्ता कमिशन सबै निश्चित गरिएको हुन्छ । र, बीमा कम्पनीको जोखिमाङ्कन विभागले जोखिमको उचित मूल्यांकन गर्न जरुरी छ । जसलेगर्दा अस्वस्थ प्रतिस्पर्धा बढ्दैन ।
० बीमा क्षेत्रमा दक्ष जनशक्तिको खाँचो देखिन्छ, त्यसो हुनुमा मुलुकभित्रै राम्रो तालिमको व्यवस्था नहुुनु हो वा यस क्षेत्रमा उचित प्रतिफल नभएर रोजगारीको आकर्षण नदेखिएको हो ?
– बीमा व्यवसाय प्राविधिक पक्ष भएका कारण जनशक्तिको खाँचो हुन्छ । हाल आएर एकै पटक धेरै बीमा कम्पनी थपिएका कारण पनि जनशक्तिको खाँचो देखिएको हो । त्यही महसुस गरेर हामी सबै बीमा कम्पनी मिलेर इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल खोलेका छौं । उक्त संस्थाले बीमा कम्पनीका कर्मचारीहरूलाई विभिन्न विधामा तालिम दिँदै आइरहेको छ । जसले गर्दा अबको केही समयपछि दक्ष जनशक्तिको अभाव नहोला । केही समयपछि बीमा अभिकर्ताहरूलाई पनि तालिम दिने व्यवस्था गर्छौं ।
० नेपाली बीमकले विदेशी पुनर्विमा कम्पनीसँग बीमा गर्दा अधिकांश बीमा शुल्क विदेशिने गरेको वर्तमान सन्दर्भमा बीमा गरिएको रकम मुलुकभित्रै राख्न के कस्ता व्यवस्थाहरू हुँदैछन् ?
– पुनर्बीमा भनेको बीमा कम्पनीले व्यक्तिबाट लिएको जोखिमलाई पुनर्बीमा कम्पनीमा हन्तान्तरण गर्ने हो । हामीले सयप्रतिशत नै नेपाल पुनर्बीमा कम्पनीलाई दिएका छौं । पुनर्बीमा कम्पनीले पनि अरु देशबाट पुनर्बीमा लिएको हुन्छ । पुनर्बीमा भनेको जोखिम छर्ने हो । जसले गर्दा दाबी भुक्तानीमा सहजता हुन्छ । यो बीमाको प्रक्रिया नै हो ।
० कति रकभन्दा ठूला बीमालेखको पुनर्बीमा हुन्छ ?
– यो आन्तरिक कुरा हो । रकम फेरबदल भइरहन्छ । आफ्नो क्षमताअनुसारको जोखिम आफूले लिएर बाँकी जोखिमको पुनर्बीमा गर्ने हो ।
० तपाईं जीवन बीमक संघ नेपालको अध्यक्ष पनि हुनुहुन्छ बीमा बजार सुरधाका लागि तपाईंको सुझाव के छ ?
– बीमाको पहुँच विस्तार गर्नुपर्छ । देशभरि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर कुना काप्चासम्म बीमा बारे बुझाउन सक्नुपर्छ । पहिले शहर केन्द्रीत व्यवसाय गाउँ पसिसकेको छ । अझ दुर्गम ठाउँमा पनि बीमा कम्पनी पुग्नु पर्दछ । अति गरिब नागरिकका लागि बीमा शुल्क राज्यले तिरेर सबैको बीमा अनिवार्य बनाउन सक्नु पर्दछ भने नियामक निकाय बीमा समितिको भूमिका अझै सशक्त हुनुपर्दछ । बीमा भनेको बचत, आर्थिक सुरक्षा, दीर्घकालिन लगानी र बुढेसकालको सहारा हो भन्ने महसुस सबैलाई गराउन सकियो भयो यसको विस्तार अझ राम्रोसँग हुन्छ ।
० अझै पनि बजारमा बीमा कम्पनीको विश्वसनीयतामाथि प्रश्न उठाइन्छ, के कारणले भाग्दैन बीमा कम्पनी ?
– बीमा कम्पनी भाग्ने सम्भावना नै हुँदैन । बीमा ऐन २०४९, कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएका पब्लिक लिमिटेड कम्पनी र नियामक निकाय बीमा समितिको निगरानीमा बीमा कम्पनी सञ्चालन हुन्छ । जबकि बीमा समितिको निर्देशन बिना केही पनि काम गर्न सकिँदैन । पैसा राख्न, झिक्न, कसैलाई दिन, सम्पत्ति जोड्न बीमा समितिकै स्वीकृति चाहिन्छ । हाम्रो हातमा केही पनि हुँदैन । यस्तो अवस्थामा भाग्ने प्रश्नै आउँदैन । यदि कसैले बीमा कम्पनी भाग्छ भन्ने आशंका गर्छ भने त्यो भ्रम चिर्न हामीले नसकेको हो ।