काठमाडौं । स्व. राजा विरेन्द्रको परिवारका नाममा भएको सम्पत्ति खोजविन तथा संरक्षण गर्नका लागि स्थापना गरिएको नेपाल ट्रष्टको कार्यालयले २१ हजार पाँच सय रोपनी जग्गा ट्रष्टको नाममा ल्याएको छ । ट्रष्ट कार्यालय स्रोतकाअनुसार, अझै बाँकी रहेका श्रीसम्पत्ति खोजवीन कार्य भइरहेको तर लगभग अधिकांश सम्पत्ति ट्रष्टको नाममा आइसकेको बताइन्छ । २१ हजार पाँच सय रोपनी जग्गामध्ये १५ हजार रोपनी जग्गा धादिङको बनक्षेत्र रहेको छ भने सुर्खेतको लाटीकोइलीमा पनि ६ हजार रोपनी जग्गा वन क्षेत्रले ओगटेको छ । ती बन क्षेत्रले ओगटेको जग्गाबाट ट्रष्टलाई सामान्य आम्दानी मात्रै हुने गरेका कारण जंगली जनावरको वासस्थान क्षेत्र मात्रै बनेको छ । बाँकी जग्गा काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा रहेको ट्रष्ट स्रोतले बताएको छ । काठमाडौंमा भएको ट्रष्टको जग्गामा श्रम तथा वैदेशिक रोजगार कार्यालय ताहाचल, गरिबी निवारण कोष लगायत केही सरकारी कार्यालयले भाडामा लिएका छन् भने गोकर्ण रिसोर्टले सन् २०२५ सम्मका लागि भाडामा लिएर व्यवसायिक गतिविधि सञ्चालन गर्दै आएको छ । कोषको नियममा ३० वर्षसम्म भाडामा दिन पाउने प्रावधान छ ।