काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार गर्दै अघिल्लो वर्षको घाटा उकासेर नाफा कमाउन सफल भएको छ। विद्युत बिक्रीबाट हुने आम्दानी बढ्नुका साथै हकप्रद सेयरमार्फत पूँजी वृद्धि गरी ऋणभार घटाउँदा कम्पनीको समग्र वित्तीय अवस्था सुदृढ बनेको हो।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्ष १ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष भने कम्पनी २ करोड २५ लाख रुपैयाँ घाटामा रहेको थियो।
समीक्षा अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी २८.६८ प्रतिशतले बढेर १८ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १४ करोड ३७ लाख रुपैयाँ थियो।
आम्दानी वृद्धिसँगै सञ्चालन नाफा पनि ४२.४५ प्रतिशतले बढेर ९ करोड ५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको सञ्चालन नाफा ६ करोड ३५ लाख रुपैयाँ रहेको थियो।
कम्पनीले हकप्रद सेयर जारी गरेर प्राप्त पूँजीबाट बैंक ऋण घटाएकाले वित्तीय खर्चमा समेत कमी आएको छ। बैंक ऋणको ब्याज तथा वित्तीय खर्च ८ करोड ७५ लाख रुपैयाँबाट घटेर ७ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ।
हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पूँजी शतप्रतिशतले बढेर ८० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ थियो।
यसैगरी, अघिल्लो वर्ष १० करोड ४७ लाख रुपैयाँ सञ्चित घाटामा रहेको कम्पनीले उक्त घाटा पूर्ति गर्दै ३० लाख ५९ हजार रुपैयाँ जगेडा कोष कायम गर्न सफल भएको छ।
दीर्घकालीन ऋण पनि उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो वर्ष ९१ करोड ५६ लाख रुपैयाँ रहेको दीर्घकालीन ऋण समीक्षा अवधिमा घटेर ७३ करोड ८९ लाख रुपैयाँमा झरेको छ। कम्पनीको कुल सम्पत्ति १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
४.९९ मेगावाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले पूँजी संरचना सुदृढ बनाउँदै सञ्चित घाटा समाप्त गरी नाफामा फर्कन सफल भएको छ। यसले आगामी वर्षहरूमा लाभांश वितरणको सम्भावना समेत बलियो बनाएको संकेत गरेको छ।