free website hit counter

बुवाको मुखहेर्नु : साहस र उत्साह जगाउँनु

beemaadmin
२०८१ भाद्र १७, सोमबार

हिन्दू वैदिक परम्परा अनुसार भाद्र कृष्ण औंसीलाई कुशे औंसी वा बुवाको मुखहेर्ने दिन भनिन्छ । यसको अर्को नाम गोकर्ण औंसी पनि हो । यस दिनको पहिलो काम कुशलाई घरमा ल्याउनु हो, दोस्रो काम आफूलाई जन्म र कर्म दिने बुवाको सम्मान गर्नु हो । सनातन हिन्दु दर्शन र परम्परामा केहि तिथिहरू बिशेष प्रकृति र महत्वका छन् । त्यसमध्य पूर्णिमा र औसी पनि हुन् ।

औसीहरु मध्य कुशे औसी एक बिशेष र महत्वपूर्ण तिथि हो । यो पुर्बिय सनातन हिन्दु परम्पराअनुसार भाद्र महिनाको कृष्ण औसी तिथिका दिन पर्छ । यो दिन पछिल्लो चरणमा बुवाको मुख हेर्ने दिनको रुपमा पनि प्रख्यात छ । बुवा, पिता अनेक शब्द । तर एकै रुपमा जन्मदाता । रक्षक, पालनकर्ता, जन्म र कर्म दिने व्यक्ति र संसार चिनाउने पात्र हुन बुवा । यस दिन सु–सन्तानहरुले (छोरा–छोरीहरुले) आ–आफ्ना जीवित बुवालाई विभिन्न तौर–तरिकाबाट आफ्नो बुद्धि, बर्कत र गच्छे आदि अनुसार बिशेष मान र सम्मान गर्छन् । डेली अमेरिकाका रिर्पोट अनुसार वाशिङ्टनका सोनोरा स्मार्टा डोड यस दिनको जन्मदाता हुन् । उनले आमाको दिवस बारेमा थाहा पाए र सोचे बाबुको पनि एक दिवस मनाउनु पर्छ । सोनारा पिता विलीयमले श्रीमतीको निधन भएपछि अर्को विवाह नगरी परिवारको हेरविचार गरेर बसेका थिए । सोनाराले आफ्ना पितालाई आफ्नो आत्मादेखिको धन्यवाद दिन खोजेका थिए । तर उपयुक्त अवसर पाएका थिएनन् ।

सन् १९१० जुन महिनाको तेस्रो आइतबारको दिन बाबु दिवस मनाउन थाले । यो विस्तारै विश्वकरण भयो । हिन्दुधर्ममा यस दिन जन्मदातालाई प्रसन्न बनाउन बुवाबाट आशिर्वाद प्राप्त गर्न,बुवा नहुनेहरुले भने विभिन्न पवित्र स्थानहरुमा गई मृतक बुवाको नाममा श्राद्ध, तर्पण गरी यथासक्य सिदा लगायत अन्य दान गर्छन् । कथंकदाचित नजिकमा धार्मिक पवित्रस्थल नभए या नपाइए वा पायक नपरे आ–आफ्ना कुल परम्परा प्रचलन र रीति अनुसार नजिकको पधेरा, पोखरी, धारा आदिमा गइ वा घरैमा बिहानै स्नान गरि बुवाको श्राद कर्म गर्छन् । बुबा आफैँमा गर्विलो शब्द हो । जब सन्तानको साथमा बुबा हुन्छन् तब सन्तानमा छुट्टै साहस र उत्साह हुन्छ । बुबा जहिल्यै खास लाग्छ । जसको रीसमा स्नेह र गालीमा आफ्नोपन हुन्छ, उहाँलाई नै बुबा भनिन्छ । सन्तानको लागि बुबा बाध्यताको पहाड हो ।

बुबाले कुल्चिनु भएको रहरहरु र ढाँकेका बाध्यताहरु जहिल्यै सहनशिल हुन्छन् । बुबाले लुकाएका दबाब र पिडाहरु सन्तानको लागि सहानुभूति जस्तै हो । बुबाको आँखाका दुःखहरु, बुबाले थकानको सुस्केरामा लुकाएका सपनाहरु सन्तानको लागि अदभूत पाठशाला हो । बाबु घरका जग हो । जग बिनाको घरको कल्पना पनि गर्न सकिदैन । आफ्ना सन्तानका लागि कहिले घोडा बन्छन् त कहिले भरिया बनिदिन्छन् । त्यसैमा आफू खुशी भएको महसुश गर्छन् । सन्तानको लागि आफ्नो रहरहरु बाँधेर बसेका बुबा जब आफ्नो छोराछोरीले सफलता हाँसिल गर्छन् तब मात्रै आफ्नो इच्छा चाहना पूरा गरेको ठान्दछन् । हरेक छोराछोरीको सफलतामा बाबूआमा नै अगाडी हुन्छन् ।

सन्तानले हिडेको बाटोलाई असल बाटो तर्फ डोर्याउने पनि बुबा नै हुन् । आफ्नो थकान र पीडालाई सन्तानको सुखमा बिसाउने एक मात्र पात्र हुन् बुबा । जसमा कहिल्यै थकान देखिँदैन । हो यसकै एक पात्र हुन बुबा । जीवित बुवाको हकमा त झन् कुशे औसी वा बुवाको मुख हेर्ने दिनले हिन्दु परम्परामा बिशेष अर्थ, औचित्य र तात्पर्य राख्छ । छोरा छोरीको जीवनमा सबैभन्दा ठूलो कर्तव्य भनेको आफ्ना जीबित पिता मातालाई सधैं सम्मान र प्रेमका साथ राख्नु हो । बाउ आमाको सेवा गर्नु, तिनीहरूसँग आदरपूर्वक बोल्नु, र अनुशासनमा रहनु नै सन्तानको धर्म हो । यदि छोरा छोरीले आफ्नो जीबित बाउ आमालाई सधैं खुसी राख्न सके भने, कुसे औंसीको साँचो अर्थ प्राप्त हुन्छ । यसै गरी, मृत्युपछि गरिने वार्षिक श्रद्धा सीधाको औपचारिकताभन्दा, जीबित अवस्थामा नै उनीहरूको सम्मान गर्नु नै वास्तविक पूजा हो । जीबित बाउ आमालाई सधैं गहिरो आदर र श्रद्धाका साथ व्यवहार गर्नुपर्छ। उनीहरूको हरेक सल्लाह र निर्देशनलाई भीत्री मनबाट स्वीकार गर्नु पर्छ। उनीहरूको अनुभव र संघर्षलाई सधैं सम्झनु र सम्मान गर्नु नै छोराछोरीको कर्तव्य हो । जीबित बाउ आमाको सेवा गर्नु, तिनीहरूको आवश्यकतालाई पहिचान गरेर सहयोग गर्नु, र उनीहरूको खुशीका लागि समर्पित रहनु नै सच्चा सम्मान हो । उनीहरूको सानो–सानो आवश्यकतालाई पनि ध्यान दिनु र उनीहरूको जीवनलाई सहज बनाउन प्रयास गर्नु आवश्यक छ ।

बाउ आमासँग बोल्दा सधैं विनम्र र सम्मानजनक भाषा प्रयोग गर्नु पर्छ। उनीहरूको भावना र स्वाभावलाई ध्यानमा राख्दै, शिष्ट र मधुर शब्दहरूको चयन गर्नुपर्छ । कठोर वा नकारात्मक शब्दहरूले तिनीहरूको मन दुखाउन सक्छ, त्यसैले सधैं सकारात्मक र सम्मानपूर्वक बोल्नु पर्छ । बाउ आमासँग कुनै असहमति हुँदा पनि धैर्यपूर्वक तिनीहरूको दृष्टिकोण सुन्नु पर्छ । तिनीहरूको अनुभव र ज्ञानलाई महत्त्व दिएर, शान्तिपूर्ण तवरले संवाद गर्नु उचित हुन्छ । आफ्ना जिम्मेवारी र कर्तव्यलाई समयमै पूरा गर्नु नै अनुशासनको परिचायक हो। बाउ आमाले दिएको कामलाई गम्भीरताका साथ लिनु, आफ्नो पढाइ र काममा ध्यान दिनु, समयमै घर फर्किनु, र तिनीहरूको विश्वासलाई कायम राख्नु पर्दछ।

जीवनमा समयको महत्व बुझेर सही तरिकाले उपयोग गर्न जान्नु पर्छ। समयमा उठ्नु, समयमा खानु, र आफ्नो दिनचर्यालाई व्यवस्थित राख्नु अनुशासनको महत्वपूर्ण पक्ष हो। बुवा माका भावना र इच्छालाई सधैं बुझेर तिनीहरूको मनलाई चोट नपुर्याउनु नै साँचो सम्मान हो । उनिहरूको खुशीलाई प्राथमिकता दिएर काम गर्नु, र तिनीहरूको भावना अनुसार व्यवहार गर्नु छोराछोरीको प्रमुख कर्तव्य हो । बाउ आमालाई उनिहरूको चाहना र आवश्यकतालाई ध्यानमा राख्नुपर्छ। उनिहरूको खुशी नै उनिहरूका लागि सबैभन्दा ठूलो उपहार हो। उनिहरूलाई प्रेम, आदर, र सहयोग दिँदा उनिहरूको जीवनमा सन्तोष र खुशी मिल्छ । कुसे औंसी, जसलाई बाउको मुख हेर्ने औंसी पनि भनिन्छ, विशेष गरी जीबित बाउ आमाप्रति सम्मान र श्रद्धा व्यक्त गर्ने दिन हो । तर यदि छोरा छोरीले आफ्नो बाउ आमालाई सधैं खुसी राख्न सके भने, त्यो दिनको साँचो अर्थ प्राप्त हुन्छ ।

स्वर्गीय बाउ आमाको लागि गरिने वार्षिक सीधा र अन्य औपचारिकताले जीवनमा तिनीहरूले चाहेको साँचो सम्मान दिन सक्दैन। जब बाउ आमा जीबित छन्, तिनीहरूको सेवा र सम्मान गर्नु नै असली पूजा हो । बाउ आमालाई सधैं भगवानको रूपमा हेर्नुपर्छ। उनीहरू नै हाम्रा जीउँदा भगवान हुन्। भगवानको पूजा गर्न मन्दिर जानु आवश्यक छैन, आफ्ना बाउ आमालाई सच्चा मनले सम्मान गर्नु नै भगवानको पूजा हो। जब बाउ आमा जीवित हुँदा तिनीहरूको सेवा, सम्मान, र खुसीको ध्यान दिइन्छ, तब मात्र कुसे औंसीको सन्देश सार्थक बन्छ । यसरी, छोराछोरीले आफ्नो जीवनमा सधैं बाउ आमाको मनलाई सम्मान र प्रेमका साथ राख्नुपर्छ । तिनीहरूको खुसी नै सन्तानको साँचो उपलब्धि हो, र यही नै कुसे औंसीको वास्तविक सार्थकता हो । जब बाउ आमालाई भगवानको रूपमा हेरेर उनीहरूको सेवा गरिन्छ, तब मात्र जीवनको साँचो अर्थ प्राप्त हुन्छ ।

सम्बन्धित समाचार