काठमाडौं । लगातारको लकडाउन र कोरोना आतंकका कारण आर्थिक क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । विश्वभर करोडौं रोजगारी गुमेको छ । यही बेला बैंक तथा वित्तीय संस्थामा हुँदै आएको अनिवार्य बिदा (फोर्स लिभ) र बैंकका कर्मचारी निष्कासनको प्रयासका सम्बन्धमा कर्मचारीको संस्था अगाडि बढेको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघले बैंक, वित्तीय संस्था तथा अन्य गैरबैंकिङ वित्तीय संस्थाहरुमा कर्मचारीहरुलाई फोर्स लिभमा पठाउने गरेको, कर्मचारी कटौती गर्ने प्रयास गरेको भन्दै त्यस्तो प्रयास नगर्न बैंक तथा वित्तीय संस्थाको उच्च व्यवस्थापनलाई चेतावनी दिएको हो । कोरोना भाइरसका कारण अर्थतन्त्र शिथिल बन्दै गएपछि कतिपय उद्योगी व्यवसायीले आफ्नो संस्थामा कार्यरत कर्मचारी तथा मजदूरहरुलाई निकाल्ने प्रयास गरिरहेका बेला नेपाल वित्तीय संस्था कर्मचारी संघ अगाडि आएको हो । केही बैंक तथा वित्तीय संस्थाहरुले यही मौकामा कर्मचारी कटौती गर्ने प्रयास गरिरहेको भन्दै विषम परिस्थितिमा कर्मचारीलाई आम्दानीबाट विमुख हुने वातावरण नबनाउन संघले चेतावनी दिएको हो । संघका अध्यक्ष पदमराज रेग्मीले प्रश्न गरेका छन् बैंकका सीइओहरुले अहिले दशौं लाख तलब लिइरहेका छन् । मनलाग्दी कर्मचारी निकाल्ने, फोर्स लिभमा पठाउने, बोनस नदिने भन्ने हो भने उच्च व्यवस्थापनको तलब र सञ्चालकहरुको भत्ता कटौती गर्ने कि नगर्ने ?