काठमाडौं । ऋण असुलीका लागि पुगेका ज्योति विकास बैंकका कर्मचारीलाई मोसो दल्नुका साथै कुटपिट घटनाका आरोपित सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाका उपमेयर रीताकुमारी चौधरीसहित पाँचजना फरार भएका छन् । उपमेयर चौधरीसहित उनका छोरा सिरज तथा सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्मका सेयरधनीहरू प्रभुनारायण चौधरी र पञ्चदेव चौधरी तथा स्थानीय रवीन्द्र स्वर्णकार फरार भएका हुन् । उपमेयरका पतिसमेत रहेका कम्पनीका सेयरधनी सञ्जीवकुमार चौधरी र उमाकान्त चौधरी भने पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले दुईजना पक्राउ परे पनि उपमेयरसहित पाँचजना फरार रहेको बताए । ज्योति विकास बैंक प्रादेशिक कार्यालय बर्दीवासका उपप्रबन्धक सुमित श्रेष्ठ र रूपनी शाखाका कर्मचारी सविन श्रेष्ठमाथि उपमेयर चौधरीसहित कम्पनीका सेयरधनी तथा आफन्तले गत बुधबार घेराबन्दी गर्दै मोसो दल्ने, जुत्ताको माला लगाउने, गालीगलौज गर्ने र लठ्ठीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि बैंकले उपमेयर चौधरीसहित सातजनाविरुद्ध अपहरण, शरीर बन्धक, कुटपिट र लुटपाटसम्बन्धी कसुरमा जाहेरी दिएको थियो । बैंकका अनुसार सप्तकोशी नगरपालिका– ७ ओद्राहास्थित सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालिले २३ वैशाख ०७८ मा बैंकबाट चार करोड ५० लाख रुपैयाँ ऋण लिएको थियो । ऋण लिँदा कम्पनीको नाममा रहेको ओद्राहास्थित तीन बिघा १४ कट्ठा र कञ्चनरूप नगरपालिका– १२ मा रहेको १६ कट्ठा आठ धुर जग्गा धितो राखिएको थियो । तर, २८ चैत ०८१ यता किस्ता नतिरेपछि बैंकले अघिल्लो शुक्रबार धितो लिलामीको सूचना निकालेको थियो । सूचनाको म्याद पूरा हुन नपाउँदै बैंकले टिकटकमार्फत जग्गा बिक्रीसम्बन्धी विज्ञापन गरेको भन्दै प्रालिका सेयरधनी आक्रोशित बनेका थिए । गत बुधबार फिल्डमा पुगेका बैंक कर्मचारीमाथि आक्रमण भएको बताइन्छ ।