free website hit counter

ब्याजदर घटेपछि नयाँ लगानीको खोजीमा इन्स्योरेन्स कम्पनी

beemaadmin
२०८३ श्रावण १३, बुधबार

काठमाडौं । बैंकको ब्याजदर निरन्तर घट्दै गएपछि बीमा कम्पनीहरूले दीर्घकालीन लगानीका नयाँ उपकरणको खोजी थालेका छन्। मुद्दती निक्षेपबाट पर्याप्त प्रतिफल नआउँदा कम्पनीहरूले उत्पादनमूलक क्षेत्र, ऋणपत्र तथा अन्य दीर्घकालीन परियोजनातर्फ लगानी विस्तार गर्न थालेका हुन्।

बैंकमा राखिएको ठूलो परिमाणको रकमबाट लागतसमेत नउठ्ने अवस्था सिर्जना भएपछि बीमा कम्पनीहरू लगानी विविधीकरणमा जुटेका छन्। एक जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतका अनुसार मुद्दती निक्षेपको प्रतिफल न्यून हुँदा बैंकहरूले समेत थप निक्षेप लिन अनिच्छा देखाएका छन्, जसले बीमा कम्पनीलाई वैकल्पिक लगानी खोज्न बाध्य बनाएको छ।

पछिल्लो तीन वर्षदेखि बैंकको ब्याजदर लगातार घट्दो क्रममा छ। हाल मुद्दती निक्षेपको औसत ब्याजदर २.७६ प्रतिशतमा झरेको छ। ऋणको माग कमजोर भएकाले बैंकहरूले नयाँ निक्षेप स्वीकार गर्नसमेत रुचि नदेखाएको बीमा क्षेत्रको भनाइ छ।

ब्याजदर घटेसँगै बचतकर्ताहरू बीमातर्फ आकर्षित हुँदा जीवन बीमा कम्पनीहरूको प्रिमियम संकलन बढेको छ। यसले कम्पनीहरूको लगानीयोग्य कोष विस्तार भए पनि त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्ने चुनौती थपिएको छ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका अनुसार अहिले कम्पनीहरूले उत्पादनमूलक उद्योग, ऋणपत्र तथा अन्य दीर्घकालीन उपकरणमा लगानी बढाउन थालेका छन्। उनले व्यवहारिक परियोजना उपलब्ध भए उत्पादन क्षेत्रमा लगानी विस्तार भइरहेको बताए।

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको लगानीका क्षेत्र निर्धारण गरेको छ। हाल जीवन बीमा कम्पनीहरूको करिब ७० प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको छ। बाँकी रकम सरकारी तथा बैंकिङ ऋणपत्र, सेयर बजारलगायतका क्षेत्रमा परिचालन गरिएको छ।

आर्थिक वर्ष २०८२/८३ को चैतसम्म जीवन बीमा कम्पनीहरूको कुल लगानी ८ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। यसमध्ये करिब ६ खर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेका अनुसार जीवन बीमा कम्पनीसँग १५–२० वर्षसम्मका दीर्घकालीन कोष हुने भएकाले सरकारबाट दीर्घकालीन पूर्वाधार बण्डजस्ता लगानीका उपकरण उपलब्ध गराइनुपर्ने आवश्यकता रहेको छ।

रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार सुझाव आयोगले पनि २०८१ चैतमा बीमा कम्पनीहरूको दीर्घकालीन कोषलाई बण्डमार्फत पूर्वाधार क्षेत्रमा परिचालन गर्न सरकारलाई सुझाव दिएको थियो। तर उक्त सुझाव हालसम्म कार्यान्वयनमा आएको छैन। बीमा कम्पनीहरूले पूर्वाधार बण्डदेखि विदेशी मुद्रामा लगानी गर्न पाउने व्यवस्था गर्न पनि माग गर्दै आएका छन्।

यसबीच, उत्पादनमूलक क्षेत्रमा बीमा कम्पनीहरूको लगानी उल्लेखनीय रूपमा बढेको छ। कृषि उत्पादन तथा वितरण, शीतभण्डार, पर्यटन, जलविद्युत्, सौर्य ऊर्जा, नवीकरणीय ऊर्जा, केबलकार, सडक, विद्युत् प्रसारण लाइन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बीमा कम्पनीहरूले १३ अर्ब ५७ करोड १२ लाख रुपैयाँ लगानी गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.१४ प्रतिशतले बढी हो।

उत्पादनमूलक क्षेत्रमा राष्ट्रिय जीवन बीमा कम्पनीले सबैभन्दा बढी ६ अर्ब २ करोड ५८ लाख रुपैयाँ लगानी गरेको छ। त्यसपछि सियन लाइफ इन्स्योरेन्सले ३ अर्ब ५२ करोड रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब ८३ करोड रुपैयाँ लगानी गरेका छन्।

घरजग्गा क्षेत्रमा भने हिमालयन लाइफ इन्स्योरेन्स मात्रै सक्रिय देखिएको छ। कम्पनीले घरजग्गामा ७५ करोड ८१ लाख रुपैयाँ लगानी गरेको तथ्यांकले देखाएको छ।

सम्बन्धित समाचार