free website hit counter

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका नेपाली आरोहीका परिवारलाई नेको इन्स्योरेन्सको दाबी भुक्तानी

beemaadmin
२०८३ भाद्र ६, शनिबार

काठमाडौं । नेको इन्स्योरेन्सले पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा परी मृत्यु भएका नेपाली आरोहीका परिवारलाई ट्रेकिङ तथा एक्सपेडिसन बीमाअन्तर्गतको दाबी भुक्तानी गरेको छ।

काराकोरम पर्वत शृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा गएको हिमपहिरोमा विश्व प्रसिद्ध पर्वतारोही निर्मल पुर्जासहित १० जनाको मृत्यु भएको थियो। दुर्घटनामा मृत्यु हुनेमध्ये पाँच जना नेपाली नागरिक रहेका थिए।

सोही दुर्घटनामा मृत्यु भएका ग्यालु शेर्पा र ङाङ ठिन्डु शेर्पाका परिवारलाई नेको इन्स्योरेन्सले बीमा दाबी रकम भुक्तानी गरेको हो। उनीहरूको ट्रेकिङ तथा एक्सपेडिसन बीमा सेभेन समिट ट्रेक्समार्फत गरिएको थियो।

कम्पनीका अनुसार आवश्यक प्रक्रिया पूरा गरी दाबीको छानबिन तथा मूल्यांकन सकेपछि शीघ्र रूपमा दाबी भुक्तानी गरिएको हो। विपद्को कठिन समयमा बीमितका परिवारलाई आर्थिक राहत तथा सुरक्षा प्रदान गर्नु बीमाको प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ।

सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले कठिन परिस्थितिमा नेको इन्स्योरेन्सले गरेको शीघ्र र सहज दाबी भुक्तानीले पीडित परिवारलाई ठूलो राहत पुगेको बताए।

उनका अनुसार ट्रेकिङ तथा पर्वतारोहण व्यवसायमा शेर्पा समुदायको महत्वपूर्ण भूमिका रहेको भन्दै जोखिमपूर्ण क्षेत्रमा काम गर्ने जनशक्तिका लागि प्रभावकारी बीमा सुरक्षा आवश्यक छ।

नेको इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत पवन थापाले बीमा जोखिम हस्तान्तरणको माध्यम मात्रै नभई दुर्घटना तथा विपद्को समयमा बीमित र परिवारलाई आर्थिक सुरक्षा दिने आधार भएको बताए।

विशेषगरी ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा कार्यरत जनशक्तिका लागि बीमा सुरक्षा अझ महत्वपूर्ण रहेको उनको भनाइ छ।

कम्पनीले आगामी दिनमा पनि बीमित तथा सेवाग्राहीलाई छिटो, सरल र प्रभावकारी दाबी सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार