free website hit counter

भारतमा सुन खरिद रोक्न आग्रह, नेपालमा जारी छ आयात

beemaadmin
२०८३ जेष्ठ ९, शनिबार

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार नयाँ उचाइमा पुगिरहेका बेला भारतमा सुन खरिद कम गर्न सार्वजनिक अपिल भइरहेका छन्। तर नेपालमा भने उच्च मूल्यका बाबजुद सुन आयात र खरिद पूर्ण रूपमा रोकिएको छैन। यसले नेपाल र भारतको आर्थिक संरचना, नीतिगत व्यवस्था तथा खुला सीमासँग जोडिएका फरक चुनौतीहरूलाई उजागर गरेको छ।

भूराजनीतिक तनाव, अमेरिकी डलरको उतारचढाव तथा विभिन्न देशका केन्द्रीय बैंकहरूले सुनको मौज्दात बढाएसँगै विश्व बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। यसको प्रभाव नेपाली बजारमा पनि परेको छ। चालु आर्थिक वर्षको १० महिनामा सुन आयातमा उल्लेखनीय उतारचढाव देखिएको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार चाडपर्व र विवाहका लगनका समयमा सुन आयात उल्लेख्य रूपमा बढे पनि पछिल्ला महिनामा मूल्य आकासिएपछि आयात घटेको छ। चैत महिनामा जम्मा १४५ ग्राम सुन आयात भएको थियो भने वैशाखमा माग बढेसँगै १०० किलो सुन भित्रिएको छ, जसका लागि २ अर्ब २८ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ।

सुनको मूल्य अत्यधिक बढेपछि उपभोक्ताले नयाँ सुन खरिद घटाएका थिए। बजारमा पुरानो सुन पुनः कारोबारमा आउन थालेपछि बैंकहरूमा सुन मौज्दात थुप्रिएको व्यवसायीहरू बताउँछन्। चैतमा विवाहलगायतका शुभकार्य कम भएकाले पनि नयाँ सुनको आयात लगभग शून्यजस्तै बनेको थियो।

यता भारतले सुन आयातलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। विश्व बजारमा तेल र सुन दुवैको मूल्य बढिरहेका बेला भारतले विदेशी मुद्रा जोगाउन सुन खरिद कम गर्न जोड दिएको छ। भारतले आफ्नो आवश्यकताको अधिकांश सुन र पेट्रोलियम पदार्थ विदेशबाट आयात गर्ने भएकाले सुनमा खर्च हुने विदेशी मुद्रा अत्यावश्यक वस्तु आयाततर्फ केन्द्रित गर्ने रणनीति अपनाएको देखिन्छ।

नेपालमा भने अवस्था फरक छ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकमार्फत मात्रै सुन आयातको व्यवस्था गरेको छ। सरकारले पूर्ण रूपमा आयात बन्द गरेमा बजारको माग पूरा गर्न तस्करी बढ्ने र त्यसले राजस्वसँगै विदेशी मुद्रा व्यवस्थापनमा थप चुनौती सिर्जना गर्ने चिन्ता सम्बन्धित निकायहरूको छ।

नेपाल–भारत खुला सीमाका कारण सुन कारोबार अझ संवेदनशील बनेको छ। भारतले सुनमा भन्सार दर बढाएर १५ प्रतिशत पुर्‍याएको छ भने नेपालमा यो दर १० प्रतिशत छ। यही अन्तरका कारण नेपालमार्फत वैध रूपमा आयात भएको सुन अवैध रूपमा भारततर्फ तस्करी हुने जोखिम बढेको बताइन्छ।

यसै पृष्ठभूमिमा सुनचाँदी व्यवसायीहरूले आगामी बजेटमार्फत सुनको भन्सार दर बढाएर भारतको भन्दा केही बढी बनाउन सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार दुवै देशको कर संरचनाबीच ठूलो अन्तर रहेमा नेपालले राजस्व र विदेशी मुद्रा दुवैमा दबाब सामना गर्नुपर्ने अवस्था आउन सक्छ।

तथ्याङ्कले असोज र कात्तिक महिनामा सुनको माग सर्वाधिक रहेको देखाउँछ। असोजमा ४०० किलो र कात्तिकमा ३०१ किलो सुन आयात भएको थियो। कात्तिकमा मात्रै सुन खरिदका लागि ५ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी रकम विदेशिएको थियो। मूल्य बढे पनि चाडपर्व र विवाहका लगनका बेला नेपाली उपभोक्ताको सुनप्रतिको आकर्षण भने अझै कायम रहेको देखिन्छ।

सम्बन्धित समाचार