काठमाडौं । भेनेजुएलामा बुधबार राति स्थानीय समयअनुसार लगातार दुई शक्तिशाली भूकम्प जाँदा व्यापक क्षति भएको छ। पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको हो।
दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी कराकसबाट करिब २९० किलोमिटर पश्चिम क्षेत्रमा रहेको जनाइएको छ। भूकम्पका कारण राजधानी कराकसलगायत विभिन्न सहरमा भवनहरू भत्किएका छन् भने पूर्वाधारमा समेत क्षति पुगेको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले सार्वजनिक गरेको प्रारम्भिक मूल्याङ्कनअनुसार भूकम्पका कारण ठूलो मानवीय क्षति हुन सक्ने अनुमान गरिएको छ। संस्थाको आकलनअनुसार १० हजारभन्दा बढीको मृत्यु हुने सम्भावना ४४ प्रतिशत रहेको छ भने १ लाखभन्दा बढीको मृत्यु हुने सम्भावना ३० प्रतिशत रहेको उल्लेख गरिएको छ। यद्यपि भेनेजुएला सरकारले हालसम्म मृतक तथा घाइतेको आधिकारिक विवरण सार्वजनिक गरेको छैन।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर राष्ट्रिय आपतकाल घोषणा गर्दै उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको जानकारी दिएकी छन्।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कराकस अन्तर्राष्ट्रिय विमानस्थलको छानाको एक भाग भत्किएको छ भने विभिन्न क्षेत्रमा विद्युत्, सञ्चार तथा यातायात सेवा प्रभावित भएका छन्।
भूकम्पपछि परकम्पहरू आउने क्रम जारी रहेकाले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा खटिएका छन्।
विज्ञहरूका अनुसार यो भूकम्प पछिल्लो १२६ वर्षयताकै भेनेजुएलामा गएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक हो। यसअघि सन् १९०० मा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।