काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन्। बाढी प्रभावितको उद्धार तथा सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्री शाहले बैठक बोलाएका हुन्।
प्रधानमन्त्रीको आह्वानमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी, सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित निकायका अधिकारीहरू सहभागी हुने गरी बैठक बोलाइएको हो।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार कार्य अघि बढाउन तथा तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशनसमेत दिइसकेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धार, राहत तथा सुरक्षाका लागि आवश्यक सबै संयन्त्र परिचालन गर्न निर्देशन दिइएको छ।