काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण सरकारले आसपासका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गृहमन्त्री सुधन गुरुङले आपत्कालीन सार्वजनिक सूचना जारी गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिङ–नारायणगढ सडकखण्डमा तत्काल आवतजावत नगर्न आग्रह गरेका हुन्।
गृहमन्त्री गुरुङले अर्को सूचना जारी नभएसम्म भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्र, मुग्लिनसम्म, उच्च जोखिममा रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन सरकारले अनुरोध गरेको छ।
साथै, खोज तथा उद्धार आवश्यक परेको अवस्थामा वा कुनै किसिमको सहायता आवश्यक भएमा सम्बन्धित निकायमा तत्काल सम्पर्क गर्न भनिएको छ।
सरकारले आपत्कालीन अवस्थामा सहयोग तथा उद्धारका लागि टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्नसमेत आग्रह गरेको छ।