free website hit counter

मधेशी एकता समाज यूएईद्वारा दशैं, तिहार र छठको शुभकामना आदान–प्रदान

beemaadmin
२०८३ आश्विन २०, मंगलवार

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैं, तिहार तथा छठको अवसरमा मधेशी एकता समाज यूएईले शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ।

दुबईस्थित जबिल पार्कमा आयोजित कार्यक्रममा समाजका यूएई च्याप्टरका पदाधिकारी तथा सदस्यहरूले आपसमा शुभकामना साटासाट गरेका थिए।

कार्यक्रममा रसुवा र नुवाकोटमा भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरिएको थियो। साथै, समाजको अन्तर्राष्ट्रिय समितिको पहल तथा संयोजनमा तराई–मधेशका विभिन्न जिल्लामा बाढीपीडितका लागि भइरहेको राहत वितरणबारे समीक्षा गरिएको थियो।

कार्यक्रममा मधेशी एकता समाज अन्तर्राष्ट्रिय समितिका संयोजक डा. रविन्द्रकुमार यादवले संस्थाको उद्देश्य, हालसम्म सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदान तथा आगामी कार्ययोजनाबारे जानकारी गराए। उनले एकता, सहकार्य, आपसी सहयोग र सामाजिक उत्तरदायित्वलाई संस्थाको मुख्य आधार बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

यस्तै, समाजलाई थप सशक्त, संगठित र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको यूएई च्याप्टरका महासचिव आदित्यकुमार अटलले जानकारी दिए।

कार्यक्रममा यूएई च्याप्टरका पूर्वअध्यक्ष धर्मेन्द्र गोहिबार, निवर्तमान अध्यक्ष रोशन देव, अध्यक्ष शैलेन्द्र यादव तथा संस्थापक सदस्यहरू लालबाबु र तनवीर आलमलगायतले धारणा राखेका थिए।

यसैबीच, समाजको आगामी गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आदित्यकुमार अटललाई सर्वसम्मत रूपमा यूएई च्याप्टरको महासचिवको जिम्मेवारी प्रदान गरिएको छ।

सम्बन्धित समाचार