free website hit counter

महंगियाे इन्धन, वायुसेवा क्षेत्र संकटमा

beemaadmin
२०८३ बैशाख २१, सोमबार

काठमाडौं — हवाई इन्धनको मूल्य लगातार बढ्नु, पर्यटक आगमन घट्नु र सञ्चालन खर्च अत्यधिक वृद्धि हुनुका कारण निजी वायुसेवा कम्पनीहरूले सरकारसँग तत्काल राहत र सहुलियतको माग गरेका छन्। वायुसेवा कम्पनीहरूको छाता संगठनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलसमक्ष ज्ञापनपत्र बुझाउँदै उद्योग गम्भीर संकटमा परेको जनाएको हो।

ज्ञापनपत्रमा कोरोना महामारी, २३–२४ भदौ २०८२ मा भएको आन्दोलन तथा हाल मध्यपूर्व (खाडी) क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा हवाई इन्धन अत्यधिक महँगिएको उल्लेख गरिएको छ। यसले सदस्य वायुसेवा कम्पनीहरूको सञ्चालन खर्च असामान्य रूपमा बढेको बताइएको छ।

संस्थाका अध्यक्ष प्रतापजंग पाण्डेका अनुसार, हवाई कम्पनीहरूको कुल खर्चमा पहिले इन्धनको हिस्सा ३०–४० प्रतिशत रहने गरेकोमा अहिले बढेर ५५–६० प्रतिशत पुगेको छ। यसका कारण व्यापारमा गिरावट आएको र नगद प्रवाहमा ठूलो दबाब परेको उनले बताएका छन्।

संस्थाले यस्तो अवस्था लम्बिए केही वायुसेवा कम्पनीहरूले सेवा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ। साथै, नेपाल आउने पर्यटकको संख्या पनि उल्लेखनीय रूपमा घटेको दाबी गरिएको छ।

वायुसेवा कम्पनीहरूले सरकारसँग तत्काल लागू हुने राहत प्याकेजको माग गरेका छन्। उनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणले उठाउँदै आएका ल्याण्डिङ, पार्किङ, नेभिगेशन, हाउजिङ, भाडा लगायत सबै शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने बताएका छन्।

त्यसैगरी, विमानस्थल सेवा शुल्क नियमावली, २०७८ अन्तर्गत आन्तरिक उडानमा प्रत्येक उडान वा अवतरणबापत अमेरिकी डलर १० मौसमी सेवा शुल्क तिर्नुपर्ने व्यवस्था तत्काल संशोधन गर्न माग गरिएको छ। यस्तो शुल्कले सञ्चालन खर्च बढाउने र यात्रु भाडा महँगो बनाउने उनीहरूको भनाइ छ।

वायुसेवा कम्पनीहरूले औद्योगिक ऐन, २०७६ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवालाई प्राथमिकता प्राप्त उद्योगमा राखे पनि हालसम्म कुनै सुविधा नदिएको गुनासो गरेका छन्। उनीहरूले अन्य विशेष उद्योगसरह आयकरमा २० प्रतिशत छुटको व्यवस्था गर्न माग गरेका छन्।

त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूबाट उठाउने विभिन्न शुल्क अमेरिकी डलरमा तोकिएको हुँदा ती शुल्क नेपाली रुपैयाँमै निर्धारण गर्नुपर्ने माग पनि गरिएको छ। वायुसेवा क्षेत्रले समयमै राहत नदिइए सेवा निरन्तरता नै संकटमा पर्न सक्ने चेतावनी दिँदै सरकारलाई तत्काल निर्णय लिन आग्रह गरेको छ।

सम्बन्धित समाचार