काठमाण्डौ । संविधानलाई प्रधानमन्त्री र राष्ट्रपतिले निजी डायरी जस्तो प्रयोग गर्न थालेपछि नेपाली राजनीतिमा अर्को बहस शुरु भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्र संविधानको मर्म विपरीत काम गरेको आरोप लगाउँदै राष्ट्रपतिविरुद्ध महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमतिमा पुगेका छन्। यो सहमतिलाई औपचारिक रुप दिन र सकभर यो अजेण्डामा एमालेको माधवकुमार नेपाल पक्षलाई समेत सहभागी गराउने हेतूले देउवाको बुढानिलकण्ठस्थित निवासमा विपक्षी गठबन्धनको बैठक बोलाइएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाका अनुसार बैठक सुरु हुनै लागेको छ ।
बैठकमा नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागी हुनका लागि देउवा निवास पुगिसकेका छन् । यो बैठकमा एमालेकै नेपाल पक्षलाई समेत डाकिएको छ । नेपालसहितका नेता बैठकमा आउने खबर प्राप्त भएको थापाले जानकारी दिए । राष्ट्रपतिले धारा ७६(५) अनुसार सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय दिएकी छिन् । यो समय दिएसँगै धारा ७६(४) मा नगई एकाएक ७६(५) मा गएर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको विपक्षी गठबन्धनको आरोप छ । यही विषयलाई आधार बनाई राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको कांग्रेसका नेताहरुले दाबी गरेका छन् ।
आजै बिहान कांग्रेसका केन्द्रीय पदाधिकारीको बैठक समेत बसेको थियो । सो बैठकले समेत राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराउनुपर्ने निश्कर्ष निकालेको थियो । सो बैठकले प्रधानमन्त्रीविरुद्ध समेत अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने अजेण्डा अगाडि बढाउने निर्णय गरेको छ । माओवादी केन्द्र समेत कांग्रेसका दुवै प्रस्तावकै पक्षमा छ । यदि एमालेका माधवकुमार नेपाल पक्षले साथ दिएको खण्डमा प्रधानमन्त्रीलाई हटाउने गरी अविश्वासको प्रस्ताव दर्ता गर्ने विपक्षी गठबन्धनको तयारी छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा)लाई प्रधानमन्त्रीको अफर नै दिएर भए पनि केपी ओलीलाई सरकारमा टिकिरहन नदिने विपक्षी गठबन्धनको रणनीति छ ।