काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८० करोड ७३ रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेको र गैर सञ्चालन खर्च घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.१६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२।१२ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ८.८४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०।२२ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर ५७ करोड ४२ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ २२ पैसा रहेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ८४ पैसा बढेर १६ रुपैयाँ ७३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.६१ गुणा रहेको छ। १२ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ९८ करोड रुपैयाँ सञ्चित छ। बैंकले पुस मसान्तसम्ममा २ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।