काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको भदौ २५ गते बसेको सञ्चालक समितिको ५६४औँ बैठकले आर्थिक वर्षको अन्त्यमा कायम वितरणयोग्य मुनाफा तथा सेयर प्रिमियम खातामा रहेको रकमबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांशअनुसार साधारण सेयरधनीले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश पाउनेछन्। यसअनुसार ३ प्रतिशत बोनस सेयरका लागि ३६ करोड २५ लाख ८६ हजार २४७ रुपैयाँ तथा ३ प्रतिशत नगद लाभांशका लागि पनि सोही बराबरको रकम छुट्याइएको बैंकले जनाएको छ। नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशबापत लाग्ने करसमेत समावेश गरिएको छ।
यस्तै, बैंकले अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसका लागि ७ करोड ४५ लाख ९९ हजार ४१ रुपैयाँ छुट्याइएको छ।
बैंकका अनुसार अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा वितरण गरिनेछ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। त्यसपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लाभांश सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।
बैंकले प्रस्तावित लाभांशसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल धितोपत्र बोर्डलगायत सम्बन्धित निकायलाई गराइसकेको छ।