काठमाडौं । मेटलाइफ नेपालले बीमितलाई आफ्नो दाबी प्रक्रियाको अवस्थाबारे सहज रूपमा जानकारी उपलब्ध गराउने उद्देश्यले नयाँ अनलाइन दाबी ट्र्याकिङ प्रणाली सुरु गरेको छ।
नयाँ सेवामार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन गर्न वा कम्पनीको शाखामा उपस्थित हुनुपर्ने झन्झटबिना आफ्नो दाबीको अवस्थाबारे जानकारी प्राप्त गर्न सक्नेछन्। नेपाल बीमा प्राधिकरणको निर्देशनअनुरूप सुरु गरिएको यो सेवाले दाबी प्रक्रियामा पारदर्शिता बढाउनुका साथै ग्राहकको पहुँच सहज बनाउने कम्पनीले जनाएको छ।
यस प्रणालीमार्फत ग्राहकले मेटलाइफ नेपालको वेबसाइटबाट जुनसुकै समयमा र जहाँबाट पनि आफ्नो दाबीको प्रगति अनलाइनमा हेर्न सक्नेछन्। दाबी कुन चरणमा समीक्षा भइरहेको छ र प्रक्रिया पूरा गर्न थप विवरण वा कागजात आवश्यक छ कि छैन भन्ने जानकारीसमेत प्राप्त गर्न सकिनेछ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बीमाको वास्तविक महत्व ग्राहकलाई आवश्यक परेको समयमा प्रतिबद्धता पूरा गर्नुमा रहेको बताएका छन्। उनका अनुसार दाबी भुक्तानी बीमाप्रतिको प्रतिबद्धताको महत्वपूर्ण पक्ष हो।
दाबी दर्ता गरेपछि ग्राहकमा उत्पन्न हुन सक्ने अनिश्चितता कम गर्न र प्रक्रियाबारे स्पष्ट जानकारी उपलब्ध गराउन नयाँ प्रणालीले सहयोग गर्ने श्रेष्ठको भनाइ छ। दाबी प्रक्रियामा पारदर्शिता बढ्दा ग्राहकको विश्वाससमेत सुदृढ हुने उनले बताएका छन्।
कम्पनीका अनुसार नयाँ सेवा ग्राहकलाई प्राथमिकतामा राखेर डिजिटल माध्यमबाट बीमा सेवालाई सरल, पारदर्शी र सहज बनाउने निरन्तर प्रयासको हिस्सा हो।