मेटलाइफ फाउन्डेसनकाे सहयाेगमा कर्णाली क्षेत्रमा ‘जीवन’ परियोजना सञ्चालन हुने
beemaadmin २०८३ श्रावण ६, बुधबार
काठमाडौं । मेटलाइफ फाउन्डेसनले बर्दियाको राजापुर नगरपालिकामा जलवायु उत्थानशीलता, पारिस्थितिक प्रणाली संरक्षण तथा वैकल्पिक जीविकोपार्जन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘जीवन’ परियोजना सञ्चालनका लागि डब्लूडब्लूएफ नेपाललाई १ लाख २० हजार अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराएको छ।
एक वर्षे परियोजनाले तल्लो कर्णाली नदी बेसिन क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत सोनाहा र थारू समुदायका करिब १४० न्यून आय भएका घरपरिवारलाई लक्षित गर्नेछ। यस क्षेत्रका समुदाय बाढी, नदी कटान र माछाको घट्दो स्रोतका कारण जीविकोपार्जन तथा खाद्य सुरक्षाको चुनौतीसँग जुधिरहेका छन्।
परियोजनाअन्तर्गत डब्लूडब्लूएफ नेपालले बाढीको जोखिम न्यूनीकरणका लागि जैविक तटबन्ध (बायो–डाइक), हरित पट्टी विकास तथा खोल्सा पुनर्स्थापना जस्ता प्रकृतिमा आधारित समाधानहरू कार्यान्वयन गर्नेछ। साथै, कृषि भूमि र बस्तीलाई डुबानबाट जोगाउन आवश्यक पूर्वाधार विकासमा पनि सहयोग गरिनेछ।
यससँगै होमस्टेमा आधारित पर्यापर्यटन, पशुपालन, कुखुरापालन तथा बजार पहुँच विस्तारमार्फत स्थानीय समुदायका लागि दिगो आयआर्जनका अवसर सिर्जना गरिने योजना छ। मेटलाइफका कर्मचारीहरूले स्वयंसेवकका रूपमा वित्तीय साक्षरता, बजेट व्यवस्थापन र साना व्यवसाय सञ्चालनसम्बन्धी तालिममा पनि सहकार्य गर्नेछन्।
परियोजनाले समुदायको माछा स्रोतमा निर्भरता घटाउँदै कर्णाली नदीको जैविक विविधता संरक्षणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। यसअन्तर्गत नदी डल्फिन, घडियाललगायत संकटापन्न जलचर प्रजातिको संरक्षणलाई पनि प्राथमिकता दिइनेछ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले जोखिम व्यवस्थापनसँगै समुदायलाई सुरक्षित र आत्मनिर्भर बनाउने दीर्घकालीन समाधानमा फाउन्डेसन प्रतिबद्ध रहेको बताए। यस्तै, डब्लूडब्लूएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले कर्णाली क्षेत्रका समुदायसँगको सहकार्यलाई थप सुदृढ गर्दै प्रकृतिमा आधारित समाधानमार्फत दिगो विकास र जैविक विविधता संरक्षणलाई अघि बढाइने बताए।