free website hit counter

मोदीसँग भेट्ने रविकाे प्रयास

beemaadmin
२०८३ जेष्ठ ११, सोमबार

काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी साता भारत भ्रमणमा जाने भएका छन्। भारत सरकारको विदेश मन्त्रालयको निमन्त्रणामा हुने दुईदिने भ्रमणका लागि उनी जेठ १८ र १९ गते (जुन १–२) नयाँ दिल्ली पुग्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि भारत भ्रमण गर्ने रास्वपाका उनी पहिलो शीर्ष नेता हुनेछन्। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुन सक्ने चर्चा भए पनि त्यसबारे औपचारिक पुष्टि भइसकेको छैन।

रास्वपा स्रोतका अनुसार लामिछानेले भारतका विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिश्री तथा अन्य उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, पार्टीगत भ्रमण भएकाले उनलाई भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा स्वागत गर्ने तयारी गरिएको बताइएको छ। त्यहाँ उनले भाजपाका शीर्ष नेताहरूसँग समेत छलफल गर्नेछन्।

भारतले विगतदेखि नै नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई विदेश मन्त्रालयको निमन्त्रणामा भ्रमण गराउँदै आएको छ। यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यस्तै निमन्त्रणामा भारत भ्रमण गरेका थिए। उनीहरू दुवै भाजपा मुख्यालयसमेत पुगेका थिए।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति अझै टुंगो नलागेको अवस्थामा लामिछानेको दिल्ली यात्रा विशेष चासोको विषय बनेको छ। आम निर्वाचनपछि दुईतिहाइ बहुमतसहित सरकार गठन भएयता हुन लागेको यो भ्रमणलाई नेपाल–भारत सम्बन्धका दृष्टिले समेत महत्त्वपूर्ण मानिएको छ।

यसअघि संसद्को चौथो ठूलो दलको नेतृत्व गरेका र दुईपटक गृहमन्त्री बनेका लामिछानेले भारत भ्रमण गरेका थिएनन्। त्यसैले सत्तारुढ दलको सभापतिका रूपमा उनको पहिलो भारत भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

यसैबीच, प्रधानमन्त्री शाहसँग भेट सम्भव नभएपछि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण स्थगित भएको थियो। त्यस्तै, मे महिनाको अन्त्यतिर तय भएको परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण पनि स्थगित भइसकेको छ।

भारत र चीनले लिपुलेक नाका हुँदै व्यापार पुनः सञ्चालन गर्ने घोषणा गरेपछि नेपाल सरकारले दुवै देशलाई कूटनीतिक नोट पठाएर असन्तुष्टि जनाएको थियो। बालेन सरकार गठन भएयता नेपाल–भारत सम्बन्धमा उल्लेखनीय नयाँ प्रगति हुन नसकेको विश्लेषण भइरहेका बेला लामिछानेको भारत भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।

सम्बन्धित समाचार