free website hit counter

यसकारण भारतविरुद्ध फेरि भड्कियो चीन

beemaadmin
२०७७ भाद्र २३, मंगलवार

एजेन्सी । नेपालका दुई ठूला छिमेकी भारत र चीनको सीमानाको घाउमा अझै खाटो बस्न सकेको छैन । सीमा विवादले उत्पन्न चिसोपन अझै बढ्दै गएको छ । सीमा भीडन्तमा आफ्ना सैनिक गुमाएपछि भारतले थप फौज समेत खडा गरिसकेको छ । अरुणाञ्चल प्रदेशको सीमानाबाट चिनियाँ सेनाले ५ जना भारतीयहरुको अपहरण गरेको भन्ने भारतको आरोपप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ । भारतका केन्द्रीय मन्त्री किरेन रिजिजुले भारतीय सेनाको सूचना फलो गर्दै अरुणाञ्चल प्रदेशको सीमानाबाट चिनियाँ सेनाले ५ जना भारतीय नागरिकको अपहरण गरेको विषयमा चिनियाँ सेनाको जवाफ पर्खिरहेको भन्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए । चीनले सो आरोपको खण्डन गर्दै अरुणाञ्चल प्रदेशकै अस्तित्वमाथि प्रश्न उठाइदिएको छ । चीनले अरुणाञ्चललाई भारतको हिस्सा मान्न नसकिने बरु यो चीनकै दक्षिणी तिब्बतको क्षेत्र भएको प्रतिक्रिया दिएको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता चाओ लिजियाङले भने– ‘चीनले कुनै पनि हालतमा ‘कथित’ अरुणाञ्चल प्रदेशलाई भारतको भनेर मान्यता दिन सक्दैन । यो चीनको दक्षिणी इलाका हो । हामीलाई भारतीय सेनाले यस क्षेत्रबाट ५ जना हराइरहेको भन्ने प्रश्नसहितको सूचना पठाएको छ, तर हामीलाई अहिले यो विषयबारे केही पनि सूचना छैन ।’
अरुणाञ्चल प्रदेशको माथिल्लो सुबानसिरी जिल्लाबाट चिनियाँ जनमुक्ति सेनाले ५ भारतीय नागरिकको अपहरण गरेको आरोप भारतीय सेनाले लगाउँदै आएको छ । आइतबार राती भारतीय केन्द्रीय मन्त्री रिजिजुले सोही प्रसंग जोडेर भारतीय सेनाले चीनको जवाफ पर्खिरहेको भन्दै ट्वीट गरेका थिए ।
उनले लेखेका थिए– ‘भारतीय सेनाले पिपुल लिबरेशन आर्मीका समकक्षीलाई सन्देश पठाएको छ, उत्तरको लागि प्रतिक्षा गर्दै ।’ वास्तवमा मन्त्री रिजिजुले एक पत्रकारको ट्वीटको प्रतिक्रियामा यो लेखेका थिए । एक पत्रकारले ट्वीटमार्फत सोधेका थिए– ‘पिपुल्स लिबरेशन आर्मीले अरुणाञ्चल प्रदेशबाट ५ जना भारतीय नागरिकहरु अपहरण गरेको आरोपमा के अपडेट छ ? के विदेश मन्त्रालय, किरेन रिजिजु, प्रेमा खण्डुले यो विषयमा केही सूचना शेयर गर्न सक्छन् होला ?’ अरुणाञ्चलको सवालमा एक सेवा निवृत्त भारतीय सैनिक जनरलले नाम नछाप्ने सर्तमा बीबीसीसँग कुरा गर्दै भने– ‘अरुणाञ्चलप्रति चीनको दृष्टिकोण कुनै नौलो होइन । यस पहिले पनि चीन अरुणाञ्चललाई आफ्नो हिस्सा मान्दथ्यो । चीनले पहिले नै भनिसकेको थियो कि त्यहाँ उसले म्याकमोहन लाइन अनुसरण गर्दैन । यही कारण तिब्बती धर्मगुरु दलाई लामाको भारत भ्रमणबारे चीन जहिले पनि नकारात्मक हुने गरेको छ ।’ उनले भने– ‘सामान्यता भारत दुई देशबीचको सीमानाबाट करिब ७०–८० किलोमिटर पछाडि आधार शिविर खडा गर्ने गर्दथ्यो, तर १९८६–८७ देखि भारतीय सेनाले सीमानासँगको यो दूरी आफ्नो भूमितर्फ सार्न सुरु गरेको छ, यसको अर्थ उ झन सीमा नजिक पुगेको छ ।’ त्यसबेला चीनले यो विषयमा कुनै प्रतिक्रिया दिएन, किनभने त्यसबेला भारत र चीनको विकास दर अर्थात जीडीपी करिब समान थियो । तर सन् २००८ मा जब भारत र अमेरिकाबीच परमाणु सन्धि भयो, त्यसबेला देखि दुई देशबीच खट्पट् सुरु भयो । पछिल्लो समय भारतको तर्फबाट सीमा क्षेत्रमा निर्माण कार्य अघि बढेको छ, त्यसैले पनि चीनले सीमामा तनाव सिर्जना गरिरहेको छ ।’
केही महिनाअघि लद्दाखस्थित सीमानामा भारत र चीनका सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो । त्यसयता दुवै देशबीच तनाव जारी छ । केही दिनअघि अर्थात अगष्ट २९ र ३० तारिकमा पनि दुई देशका सेनाबीच झडप भएको थियो । यो झडपमा पनि केही सेना घाइते भएका सूचनाहरु प्राप्त भएका थिए । त्यसयता दुई देशबीच तनाव जारी छ । सीमा विवादका सवालमा भारतीय र चिनियाँ सेनाका ब्रिगेड कमाण्डरस्तरीय वार्ता चलिरहेको छ भने केही दिनअघि रुस भ्रमणका क्रममा रहेका बेला दुवै देशका रक्षामन्त्रीबीच पनि उच्चस्तरीय वार्ता भएको छ । लद्दाख सीमा विवादका सवालमा चिनियाँ विदेश मन्त्रालयले आफ्नो सेनाले वास्तविक नियन्त्रण रेखाको नियमलाई कडाईका साथ पालना गरेको र चिनियाँ सेनाले यो रेखा कहिल्यै पार नगरेको दाबी गर्दै आएको छ । अर्कोतर्फ चिनियाँ विदेशमन्त्री वाङ यीले पनि दुई देशबीचको सीमानामा स्थिरता कायम गर्न चीन प्रतिबद्ध रहेको बताएका छन् । उनले चीन परिस्थितिलाई तनावपूर्ण र भड्काउने काममा नलाग्ने बताएका छन् ।
मन्त्री वाङले फ्रान्सेली इन्स्टिच्युट अफ इन्टरनेश्नल रिलेसन्सको एक कार्यक्रमलाई सम्बोधन गर्दै भने– ‘दुई देश ९चीन र भारत० बीच अझै सीमांकन भैसकेको छैन, त्यसैले समस्याहरु छन् । चीनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई मजबुत बनाउन चाहान्छ । यसका लागि भारतीय पक्षसँग वार्ताका माध्यामबाट सबै प्रकारका मुद्धाहरुको समाधान गर्न चीन तयार छ ।’ मन्त्री वाङले चीन राम्रो छिमेकको नीतिमा विश्वास राख्ने र छिमेकीहरुसँग मैत्रीपूर्ण र स्थिर सम्बन्ध राख्न चाहाने बताए । भारत र चीनबीच ३५ सय किलोमिटर लामो सीमा छ । दुवै देश वर्तमान सीमानाका सवालमा सन्तुष्ट छैनन् ।

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार