free website hit counter

यसरी भित्रिँदैछ नेपालमा कोरोना भ्याक्सिन

beemaadmin
२०७७ मंसिर २०, शनिबार

काठमाडौँ । विश्व बजारमा कोरोना विरुद्धको भ्याक्सिन प्रयोगबारे बहस भइरहँदा नेपाल सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ), ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

उहाँले अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित भइनसकेको बताउनुभयो । उहाँले शुरुमा २० प्रतिशत जनतालाई खोप ल्याएपछि विस्तारै सबैलाई पुग्नेगरी खोप ल्याइने जानकारी दिनुभयो । कोभ्याक्सअन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ । गरिब तथा कम आय भएका मुलुकलाई कोभ्याक्स सुविधाअन्तर्गत खोप निःशुल्क प्रदान गरिनेछ । खोप अझै तेस्रो चरणको परीक्षणमा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित छैन, उहाँले भन्नुभयो, खोपको अन्तिम परीक्षण सफल भएपछि खोप ल्याइनेछ ।

प्रमुख डा. शर्मा गौतमका अनुसार फाइजर एण्ड वायोएनटेक कम्पनी (रसिया), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया) र अक्सफोर्ड एक्ट्राजेनिका (बेलायत) कम्पनीका खोप अहिले परीक्षणका क्रममा रहेकाले तिनीहरुमध्ये एउटा कम्पनीको खोप स्वदेशमा ल्याइनेछ । खोप उत्पादन गर्ने मुलुकमा दर्ता भइसकेपछि डब्लुएचओमा दर्ता र त्यसपछि नेपालको औषधि व्यवस्था विभागमा खोप दर्ता हुनेछ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा खोप सचिवालय, तथा मन्त्रालयको प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा खोप कोष सचिवालय गठन गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले खोप ल्याउने तयारीका साथ काम गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार खोपका लागि आवश्यक रकम, खोप ल्याइसकेपछि भण्डारण, खोप शुरुमा कसकसलाई दिने, खोप कसरी दिने भन्ने स्वास्थ्यकर्मीलाई तालिम जस्ता काम भइरहेको छन् । उहाँले खोप ल्याउनेका लागि विभिन्न कूटनीतिक नियोगसँग पनि छलफल भइरहेको जानकारी दिनुभयो ।

खोपको अन्तिम परीक्षण पछि हामी नेपालमा खोप ल्याउनेगरी तयारी गरिहेका छौँ, उहाँले भन्नुभयो, खोप अन्तिम परीक्षण सफल भयो भने नेपालमा पनि खोप आउँछ । विश्वमा उत्पादन भएका खोप अहिले तेस्रो चरणमा रहेका छन् । ती खोपको अन्तिम परीक्षण हुन बाँकी नै रहेको छ । नेपालमा शुरुमा खोप दीर्घरोगी वृद्धवृद्धा, स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीलाई उपलब्ध गराइनेछ ।

सम्बन्धित समाचार