काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन्। यसपटक सरकारले विगतको तुलनामा ठूलो आकारको बजेट ल्याउने तयारी गरेको स्रोतले जनाएको छ।
अर्थ मन्त्रालयका अनुसार बजेटको आकार कम्तीमा २१ खर्बदेखि २५ खर्ब रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरिएको छ। जबकि राष्ट्रिय स्रोत अनुमान समितिले भने १८ खर्ब ९० अर्ब रुपैयाँको सीमा तय गरेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाटै ठूलो आकारको बजेट ल्याउन दबाब आएपछि अर्थमन्त्री वाग्ले त्यसअनुसारको तयारीमा जुटेका हुन्। सरकारको उच्च राजनीतिक अपेक्षा र नागरिकको आकांक्षालाई सम्बोधन गर्न सिलिङभन्दा माथिको बजेट आउने लगभग निश्चित देखिएको छ।
अर्थमन्त्री वाग्लेले यसअघि नै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ३० प्रतिशत बराबरको बजेट ल्याउने संकेत दिएका थिए। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको जीडीपी ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। त्यसअनुसार आगामी बजेट कम्तीमा २० खर्ब २० अर्ब रुपैयाँभन्दा माथि पुग्ने देखिन्छ।
सरकारले बजेट लेखनको अधिकांश काम टुंग्याइसकेको छ। अब करका दर र केही अन्तिम व्यवस्थापन मात्रै बाँकी रहेको बजेट लेखन समितिका सदस्यले बताएका छन्।
ठूलो आकारको बजेट ल्याउने तयारीसँगै त्यसका लागि आवश्यक स्रोत कसरी जुटाइन्छ भन्ने विषयमा अर्थशास्त्रीहरूले चासो व्यक्त गरेका छन्। सरकारको आम्दानीको प्रमुख आधार राजस्व, अनुदान र ऋण नै हुने भएकाले ती स्रोतको अवस्था महत्वपूर्ण मानिएको छ।
समितिले आगामी बजेटका लागि करिब साढे १५ खर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको थियो भने बाँकी रकम अनुदान र ऋणबाट जुटाउने गरी १८ खर्ब ९० अर्बको सिलिङ तय गरिएको थियो। यो चालू आवको बजेटभन्दा ७४ अर्ब रुपैयाँ कम हो।
चालू आर्थिक वर्षमा १३ खर्ब २५ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको भए पनि जेठ १३ गतेसम्म सरकारले १० खर्ब २६ अर्ब रुपैयाँ मात्रै संकलन गरेको छ। लक्ष्यअनुसार राजस्व उठाउन बाँकी डेढ महिनामा ३ खर्बभन्दा बढी रकम जुटाउनुपर्ने अवस्था छ, जुन चुनौतीपूर्ण देखिएको छ। विगत केही वर्षदेखि सरकारले राजस्व लक्ष्य पूरा गर्न सकेको छैन।
सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ अनुसार सरकारले जीडीपीको ३३ प्रतिशतभन्दा बढी वैदेशिक ऋण लिन पाउँदैन। हाल नेपालको वैदेशिक ऋण जीडीपीको २४.१५ प्रतिशत अर्थात् १५ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यस हिसाबले सरकारसँग थप करिब ४ खर्ब रुपैयाँ वैदेशिक ऋण लिने क्षमता बाँकी रहेको देखिन्छ।
त्यस्तै, चालू आवमा ५३ अर्ब ४४ करोड रुपैयाँ वैदेशिक अनुदान आउने अपेक्षा गरिएको भए पनि हालसम्म २० अर्ब ७७ करोड रुपैयाँ मात्रै प्राप्त भएको छ। पछिल्लो समय दातृ निकायबाट प्राप्त हुने अनुदान घट्दो क्रममा रहेकाले आगामी वर्ष ठूलो परिमाणमा अनुदान जुटाउन कठिन हुने देखिएको छ।
राजस्व, वैदेशिक ऋण र अनुदानबाट नपुग्ने रकम सरकारले आन्तरिक ऋणमार्फत व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्छ। तर आन्तरिक ऋण महँगो हुने र बैंकिङ प्रणालीको तरलतामा दबाब सिर्जना हुने जोखिम पनि बढ्ने अर्थविद्हरूको भनाइ छ।
सरकारले करको दर घटाएर करको दायरा विस्तार गर्ने नीति लिने तयारी गरेको छ। विशेषगरी अनौपचारिक अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याएर राजस्व बढाउने लक्ष्य राखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयको ‘एनालिटिकल रिपोर्ट इन्फरमल सेक्टर’ अनुसार नेपालमा सञ्चालनमा रहेका करिब ९ लाख २३ हजार फार्ममध्ये झण्डै आधा दर्ताबिनै सञ्चालन भइरहेका छन्। यसले नेपालमा ठूलो अनौपचारिक अर्थतन्त्र रहेको पुष्टि गर्छ।
जानकारहरूका अनुसार अनौपचारिक क्षेत्रलाई करको दायरामा ल्याउन सकिए सरकारले अनुमान गरेभन्दा बढी राजस्व उठाउन सक्ने सम्भावना छ।
सरकारले प्रतिफलमूलक परियोजनामा निजी क्षेत्रलाई सहभागी गराउने रणनीति पनि अघि सारेको छ। यसका लागि वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संसद्बाट पारित भइसकेको छ।
यो व्यवस्था कार्यान्वयनमा आएपछि निजी क्षेत्र, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, सञ्चय कोष र सरकारबीच सहकार्य गरी ठूला परियोजना सञ्चालन गर्ने बाटो खुल्नेछ। यसले पनि बजेटको आकार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अर्थविद् डा. चन्द्रमणि अधिकारी भने उपलब्ध स्रोत र कार्यान्वयन क्षमताअनुसार मात्रै बजेट बनाउनुपर्ने बताउँछन्।
उनका अनुसार ठूलो आकारको बजेट ल्याएर पछि खर्च गर्न नसक्ने र संशोधनमार्फत घटाउने प्रवृत्ति दोहोरिनु राम्रो होइन। उनले बजेटको आकारभन्दा पनि स्रोतको प्रभावकारी उपयोगमा ध्यान दिनुपर्ने धारणा राखेका छन्।
‘विगतमा १०० रुपैयाँ लाग्ने काम अहिले ९० रुपैयाँमा गर्न सकियो भने त्यो नै बजेट प्रभावकारिताको सुधार हो,’ उनले भने, ‘ऋण बढाएर मात्रै बजेट ठूलो बनाउनु उपयुक्त हुँदैन।’
उनले ऋण उत्पादनशील क्षेत्रमा प्रयोग हुन नसकेको र आन्तरिक ऋण उठाएर वैदेशिक ऋणको सावाँ–ब्याज तिर्ने अवस्था आउनु चिन्ताजनक भएको बताए।