free website hit counter

यस्तो छ नेपालमा बीमाको इतिहास

beemaadmin
२०७६ भाद्र ७, शनिबार

नुरराज कँडेल

जोखिम हस्तान्तरणको ग्यारेन्टी नहुँदा नेपालमा बैंकहरूले लगानी गर्ने अवस्था थिएन । चोरीबाट हुने क्षति, स्थानान्तरण गर्दा हुनसक्ने असुरक्षा, आगलागीलगायतका जोखिमको बहन गर्न नेपालमा बिमाको आवश्यकता महसुस गरियो । वि.सं. १९९४ सालमा नेपाल बैङ्क लिमिटेडको स्थापनासँगै नेपालको बीमा इतिहासको प्रारम्भ भएको हो । वि.सं. २००४ सालको आश्विन ८ गते नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेडको स्थापना गरी बीमाको कार्य सञ्चालन गरिएको पाइन्छ । यही नै नेपालको इतिहासमा प्रथम बीमा कम्पनी हुन सफल भयो । बीमाको अवधारणा कायम राखेर निर्जीवन बीमा व्यवसाय गर्ने प्रमुख र पहिलो कम्पनी स्थापित हुन सफल भएको मानिन्छ । यस कम्पनीको तत्कालीन अधिकृत पुँजी पाँच लाख थियो ।

यसको उद्देश्य भनेको तत्कालीन अवस्थाको जोखिम, जसमा चोरी तथा आगलागी र एक ठाउँबाट अर्काे ठाउँमा सामग्री आदान–प्रदान गर्दा हुने सरसामानको जोखिमको स्वामित्व वहन गर्नु रहेको थियो । यस बीमा कम्पनी विशेषतः नेपाल बैङ्क लिमिटेडसँग बढी नजिक भएको थियो किनकि उक्त बैङ्कले ऋण प्रवाह गरेको व्यक्ति वा कम्पनीको सरसामानको गन्तव्यसम्म नपुगुन्जेलसम्म जोखिम वहन बीमा गर्दथ्यो । त्यस्ता प्रकारका सामानहरू भारतबाट रक्सौल, वीरगन्ज हुँदै भन्सार छुटाई गन्तव्यमा पु¥याउने काम गरिन्थ्यो । यसरी वि.सं. २००४ सालमा स्थापना भएको बीमा कम्पनी वि.सं. २०१६ वि.सं.मा नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेडमा परिवर्तन भयो र वि.सं. २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड नामकरण गरियो । स्थापनाकालदेखि नै उक्त कम्पनीले निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ र नेपालमा बीमा व्यवसायको श्रेय पनि यसै कम्पनीलाई दिनुपर्दछ ।

यसरी निर्जीवन बीमाको केही बजार त यसले समेट्न सक्यो तर पनि जीवन र निर्जीवन बीमाको लागि नेपालको पुँजी विदेशिने क्रम भइरह्यो । यसलाई रोक्नका लागि राष्ट्रियस्तरको बीमा संस्थानको आवश्यकता महसुस गरी तेस्रो पञ्चवर्षीय योजनाअन्तर्गत नेपालमा बीमा संस्थान स्थापना गर्ने योजना राखियो । बीमा संस्थान स्थापना गर्नका लागि वि.सं. २०२४ साल भाद्र १ गते एउटा अस्थायी समिति गठन गरी प्रतिवेदन तयार गर्न लगाइयो ।

उक्त प्रतिवेदनको आधारमा कम्पनी ऐन २०२१ अनुसार सरकारी स्वामित्वमा रहने गरी वि.सं. २०२४ साल पौष १ गते राष्ट्रिय बीमा संस्थान प्रा.लि.को स्थापना भयो र विधिवत्रूपमा उद्घाटन वि.सं. २०२५ साल फागुन ११ गते तत्कालीन राजा महेन्द्रबाट गरिएको थियो । यस कम्पनीले पनि निर्जीवन बीमा मात्र गर्ने ग¥यो, जसको अधिकृत पुँजी रू. १ करोड र चुक्ता पुँजी रू. २५ लाख थियो । वि.सं. २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन २०२५ पारित गरी यस बीमकको नाम वि.सं. २०२५ पौष १ गते राष्ट्रिय बीमा संस्थानमा परिणत गरियो ।

त्यति बेला नेपालमा जीवन बीमा कम्पनी खुलेका थिएनन् । तर भारतीय जीवन बीमा निगमले विशेष शर्तमा कार्यालय खोलेर व्यवसाय सञ्चालन गर्ने गरेको थियो । वि.सं. २०२९ साल फागुन ७ गतेका दिनदेखि राष्ट्रिय बीमा संस्थानले जीवन बीमाको पनि सुरुवात गरेको थियो । यसको लगत्तै भारतीय जीवन बीमा निगमले आफ्नो बीमा व्यवसाय संस्थानलाई हस्तान्तरण गरी नेपालमा रहेको आफ्नो कार्यालय बन्द ग¥यो । यसरी छोड्नुपर्ने शर्त निगमसँग भएको थियो । यस संस्थानको स्थापनाले विदेशी कम्पनीसँग नै बीमा गर्नुपर्ने बाध्यताको अन्त्य भयो र केही हदसम्म पुँजी पलायनलाई रोक्न सक्ने भयो ।

वि.सं. २०४४ सालमा निजी क्षेत्रको बीमा कम्पनी नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी लि.को स्थापना भयो । यसले जीवन र निर्जीवन दुईवटै बीमा व्यवसाय गर्दथ्यो । हाल आएर उक्त कम्पनीको नाम नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि. र एनएलजी इन्स्योरेन्स कम्पनी लि. बनाइयो । सन् २००१ सेप्टेम्बर १ तारिखका दिन लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल) लि. स्थापना गरी जीवन बीमा व्यवसायको सुरुवात ग¥यो ।

यसै गरी नेसनल लाइफ, एलिको हालको मेटलाइफ, गुराँस, प्राइम, महालक्ष्मी, एसियनलगायत १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी एउटा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड सञ्चालनमा छन् । पछिल्लो दुई दशकयता आएर बीमा कम्पनीहरू थपिने क्रम बढ्दो छ । यी बीमा कम्पनीहरूलाई व्यवस्थित गर्नका लागि तत्कालीन सरकारले राष्ट्रिय बीमा संस्थानको स्थापना भएदेखि नै वि.सं. २०२५ सालमा अर्थ मन्त्रालयको एउटा इकाईको रूपमा बीमा समितिको स्थापना गरेको थियो । उक्त समितिले वि.सं. २०२६ साल जेष्ठ १ गते प्रथम बैठक बसेर आफ्नो काम सुरु गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार