जोखिम हस्तान्तरणको ग्यारेन्टी नहुँदा नेपालमा बैंकहरूले लगानी गर्ने अवस्था थिएन । चोरीबाट हुने क्षति, स्थानान्तरण गर्दा हुनसक्ने असुरक्षा, आगलागीलगायतका जोखिमको बहन गर्न नेपालमा बिमाको आवश्यकता महसुस गरियो । वि.सं. १९९४ सालमा नेपाल बैङ्क लिमिटेडको स्थापनासँगै नेपालको बीमा इतिहासको प्रारम्भ भएको हो । वि.सं. २००४ सालको आश्विन ८ गते नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेडको स्थापना गरी बीमाको कार्य सञ्चालन गरिएको पाइन्छ । यही नै नेपालको इतिहासमा प्रथम बीमा कम्पनी हुन सफल भयो । बीमाको अवधारणा कायम राखेर निर्जीवन बीमा व्यवसाय गर्ने प्रमुख र पहिलो कम्पनी स्थापित हुन सफल भएको मानिन्छ । यस कम्पनीको तत्कालीन अधिकृत पुँजी पाँच लाख थियो ।
यसको उद्देश्य भनेको तत्कालीन अवस्थाको जोखिम, जसमा चोरी तथा आगलागी र एक ठाउँबाट अर्काे ठाउँमा सामग्री आदान–प्रदान गर्दा हुने सरसामानको जोखिमको स्वामित्व वहन गर्नु रहेको थियो । यस बीमा कम्पनी विशेषतः नेपाल बैङ्क लिमिटेडसँग बढी नजिक भएको थियो किनकि उक्त बैङ्कले ऋण प्रवाह गरेको व्यक्ति वा कम्पनीको सरसामानको गन्तव्यसम्म नपुगुन्जेलसम्म जोखिम वहन बीमा गर्दथ्यो । त्यस्ता प्रकारका सामानहरू भारतबाट रक्सौल, वीरगन्ज हुँदै भन्सार छुटाई गन्तव्यमा पु¥याउने काम गरिन्थ्यो । यसरी वि.सं. २००४ सालमा स्थापना भएको बीमा कम्पनी वि.सं. २०१६ वि.सं.मा नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेडमा परिवर्तन भयो र वि.सं. २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड नामकरण गरियो । स्थापनाकालदेखि नै उक्त कम्पनीले निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ र नेपालमा बीमा व्यवसायको श्रेय पनि यसै कम्पनीलाई दिनुपर्दछ ।
यसरी निर्जीवन बीमाको केही बजार त यसले समेट्न सक्यो तर पनि जीवन र निर्जीवन बीमाको लागि नेपालको पुँजी विदेशिने क्रम भइरह्यो । यसलाई रोक्नका लागि राष्ट्रियस्तरको बीमा संस्थानको आवश्यकता महसुस गरी तेस्रो पञ्चवर्षीय योजनाअन्तर्गत नेपालमा बीमा संस्थान स्थापना गर्ने योजना राखियो । बीमा संस्थान स्थापना गर्नका लागि वि.सं. २०२४ साल भाद्र १ गते एउटा अस्थायी समिति गठन गरी प्रतिवेदन तयार गर्न लगाइयो ।
उक्त प्रतिवेदनको आधारमा कम्पनी ऐन २०२१ अनुसार सरकारी स्वामित्वमा रहने गरी वि.सं. २०२४ साल पौष १ गते राष्ट्रिय बीमा संस्थान प्रा.लि.को स्थापना भयो र विधिवत्रूपमा उद्घाटन वि.सं. २०२५ साल फागुन ११ गते तत्कालीन राजा महेन्द्रबाट गरिएको थियो । यस कम्पनीले पनि निर्जीवन बीमा मात्र गर्ने ग¥यो, जसको अधिकृत पुँजी रू. १ करोड र चुक्ता पुँजी रू. २५ लाख थियो । वि.सं. २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन २०२५ पारित गरी यस बीमकको नाम वि.सं. २०२५ पौष १ गते राष्ट्रिय बीमा संस्थानमा परिणत गरियो ।
त्यति बेला नेपालमा जीवन बीमा कम्पनी खुलेका थिएनन् । तर भारतीय जीवन बीमा निगमले विशेष शर्तमा कार्यालय खोलेर व्यवसाय सञ्चालन गर्ने गरेको थियो । वि.सं. २०२९ साल फागुन ७ गतेका दिनदेखि राष्ट्रिय बीमा संस्थानले जीवन बीमाको पनि सुरुवात गरेको थियो । यसको लगत्तै भारतीय जीवन बीमा निगमले आफ्नो बीमा व्यवसाय संस्थानलाई हस्तान्तरण गरी नेपालमा रहेको आफ्नो कार्यालय बन्द ग¥यो । यसरी छोड्नुपर्ने शर्त निगमसँग भएको थियो । यस संस्थानको स्थापनाले विदेशी कम्पनीसँग नै बीमा गर्नुपर्ने बाध्यताको अन्त्य भयो र केही हदसम्म पुँजी पलायनलाई रोक्न सक्ने भयो ।
वि.सं. २०४४ सालमा निजी क्षेत्रको बीमा कम्पनी नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी लि.को स्थापना भयो । यसले जीवन र निर्जीवन दुईवटै बीमा व्यवसाय गर्दथ्यो । हाल आएर उक्त कम्पनीको नाम नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि. र एनएलजी इन्स्योरेन्स कम्पनी लि. बनाइयो । सन् २००१ सेप्टेम्बर १ तारिखका दिन लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल) लि. स्थापना गरी जीवन बीमा व्यवसायको सुरुवात ग¥यो ।
यसै गरी नेसनल लाइफ, एलिको हालको मेटलाइफ, गुराँस, प्राइम, महालक्ष्मी, एसियनलगायत १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी एउटा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड सञ्चालनमा छन् । पछिल्लो दुई दशकयता आएर बीमा कम्पनीहरू थपिने क्रम बढ्दो छ । यी बीमा कम्पनीहरूलाई व्यवस्थित गर्नका लागि तत्कालीन सरकारले राष्ट्रिय बीमा संस्थानको स्थापना भएदेखि नै वि.सं. २०२५ सालमा अर्थ मन्त्रालयको एउटा इकाईको रूपमा बीमा समितिको स्थापना गरेको थियो । उक्त समितिले वि.सं. २०२६ साल जेष्ठ १ गते प्रथम बैठक बसेर आफ्नो काम सुरु गरेको थियो ।