काठमाडौं । रसुवालगायतका बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
बाढीको खबर सार्वजनिक भएलगत्तै विश्व बैंकले नेपाललाई आपत्कालीन सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो। बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप करिब २५ अर्ब रुपैयाँसम्म सहयोग गर्न सकिने जानकारी गराएका थिए।
दक्षिणी छिमेकी भारतले पनि बाढी प्रभावितका लागि तत्काल आवश्यक पर्ने राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आजै काठमाडौं ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।
यस्तै, उत्तरी छिमेकी चीनले पनि बाढी प्रभावितका लागि तत्काल नगद सहयोग उपलब्ध गराउने भएको छ। सहयोग रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारसँग समन्वय गरेका छन्।
छिमेकी मुलुक तथा दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोग परिचालनको मोडालिटीबारे अन्तरसरकारी समन्वय र छलफल अघि बढाइएको बताएका छन्।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेपछि बाढीपीडितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि स्वदेशी तथा विदेशी सहयोग परिचालन गर्ने बाटो खुलेको हो।