काठमाडौं । राष्ट्रपति कार्यालयमा पूराना गलैँचा फालेर नयाँ गलैँचा राख्न थालिएको समाचार सार्वजनिक भएका छन् । सिंगो विश्व समुदाय कोरोनाको कारण आतंकित छ । लाखौं नेपाली घर परिवार छाडेर विदेशी भूमिमा देश खोजिरहेका छन् । ज्यानै जान परे पनि आफ्नो परिवारका माझमा जाओस् भन्ने युवा पंक्ति विदेशमा लाखौं छन् । उनीहरुको उद्दार हुन सकेको छैन । यस्तो बेला देशको अभिभावक राष्ट्रपतिले विलासिताका काम गर्न सुहाउँदैन । तीन वर्षअगाडि निर्माण गरिएको राष्ट्रपति भवनमा रहेका दुईवटा ठूला हलका लागि करिब ३०÷३० लाख पर्ने गलैँचा र अन्य कोठाहरुका लागि करिब ४० लाख पर्ने गलैँचा फेर्न लागिएको बताइएको छ । राष्ट्रपति कार्यालयको कोठाहरु भव्य बनाउने ठेक्का हिमालयन डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङलाई दिइएको छ । राष्ट्रपति कार्यालयले विदेशी पाहुना आउँदा भेटघाट गर्ने कक्षमा देशको इज्जत बढाउन महँगो गलैँचा बिछ्याउन लागेको स्पष्टीकरण दिएको छ । त्यसो हो भने राष्ट्रपति कार्यालयको सजावटले मात्रै देशको गरिबी छोपिन्छ ? हिमालय डेकोरकी प्रबन्धक शोभा गुरुङले नेपाली मौलिकता झल्कने गरी कोठाहरु सजाउन लागिएको बताएकी छिन् । कम्पनीले लकडाउनमा पनि गलैँचा बुन्ने काम धमाधम गरिहेको छ । हामी चाहन्छौ जनताका छोराछोरी देशको प्रमुख बनेका बेला राजतन्त्रको बेला जस्तो विलासी काम नहोस् । देश, समय र परिस्थिति सुहाउँदो काम होस् । त्यो रकम कोरोना प्रभावित क्षेत्रमा परीक्षणको दायरा बढाउन खर्च गरियोस् ।