free website hit counter

राष्ट्रिय बीमा कम्पनीको सीईओ शेखरले सम्हाल्दै

beemaadmin
२०७९ भाद्र २३, बिहीबार

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त हुने भएका छन् । उनको नियुक्ति प्रक्रिया अर्थ मन्त्रालयले अन्तिम चरणमा पुर्याएको छ । राष्ट्रिय बीमा कम्पनीले खुला प्रतिपर्धाबाट सीईओको माग गर्दा सहभागी भएका बराल अन्तिम तीन जनामा सर्टलिष्टिङ भएका थिए । तीन जनामध्ये कम्पनी सञ्चालक समितिले एक जनालाई सीईओ नियुक्ति गर्नसक्छ । बराललाई नियुक्ति गर्ने कुरामा अर्थ मन्त्रालय सकारात्मक हुँदा सञ्चालक समितिले उनलाई नियुक्ति गर्ने आधार बनेको हो ।
राष्ट्रिय बीमा कम्पनीलाई नेतृत्वविहीन बनाउँदा कम्पनीको अवस्था थप कमजोर हुने र विगतदेखि मिल्ननसकेको हिसावकिताव थप अलपत्र पर्ने भएकाले निजामती कर्मचारीलाई पठाएर भन्दा व्यवसायिक व्यक्तिलाई नै सीईओ नियुक्त गर्न लागिएको हो । अर्थ मन्त्रालय पनि बरालसँग सकारात्मक देखिएको छ ।
कम्पनीको सीईओमा हाल अर्थ मन्त्रालयका सह सचिव ज्ञानेन्द्र ओझा छन् । उनले आफू बीमा कम्पनीमा रहनु वा मन्त्रालय जानुले धेरै फरक नपर्ने बताउँदै आएका छन् । कर्पोरेट नेपालसँग ओझाले आफू जागिर खान मात्रै कम्पनीमा आएको नभई काम गर्न आएको बताएका थिए । त्यसअनुसार उनले लेखापरीक्षण हुन नसकेको हिसाव पनि मिलाउने कामलाई गति दिएका थिए । तर अर्थ मन्त्रालयले उनलाई फिर्ता गरेर बराललाई सीईओ नियुक्त गर्ने तयारी गरेको हो ।
बराल सीईओ नियुक्त भएर आएपछि कम्पनीमा लामो समयदेखि बाँकी रहेको लेखापरीक्षण तथा बार्षिक साधारणसभा सम्पन्न गर्ने दायित्व उनीमाथि आउने छ । लेखापरीक्षण ढिलो हुँदा लगानीकर्ताहरुले लामो समयदेखि लाभांश पाउन सकेका छैनन् । त्यस्तै, बीमा समितिले तोके अनुसारको पुँजी वृद्धिको प्रक्रियासमेत सोही कारण अडकिएको छ । कम्पनीले नयाँ व्यवस्थाअनुसार साढे दुई अर्ब रुपियाँ पुँजी कायम गर्नुपर्ने हुन्छ । निजी क्षेत्रका बीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्दै व्यवसाय ल्याउनुपर्ने चुनौति नयाँ बन्ने सीईओको हुनेछ । बरालसँग बैंक वित्तीय संस्थामा डेढ दशकभन्दा बढी काम गरेको अनुभव छ । उनले सूर्या लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स तथा युनाईटेड इन्स्योरेन्समा काम गरिसकेका छन् ।

सम्बन्धित समाचार