free website hit counter

रुकुम घटनाका अभियुक्तहरुसँग आजबाट बयान

beemaadmin
२०७७ असार १, सोमबार

काठमाडौं । ६ जना युवको विभत्स हत्या भएको चौरजहारी नगरपालिका–८, सोतीगाउँ घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग दर्ता गराएको हो । पक्राउ परेका सोती गाउँका २८ र फरार पाँच जनासहित गरी ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा अभियोग दर्ता भएको हो । त्यस्तै पक्राउ परेका जाजरकोटका एक जनाविरुद्ध मतियार कसुरमा अभियोग दर्ता भएको छ ।
पक्राउ परेका र फरार रहेका समेत गरी ३४ जनामध्ये ३३ जनालाई तीन र एक जनालाई तीन वटै कसुरमा मतियार रहेको अभियोग लागेको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए । उहाँका अनुसार ३३ जना विरुद्ध मुलुकी अपराध संहिताको दफा १७७ (२) अनुसार जन्मकैद, दफा ४१ (क) (ग) बमोजिम आजीवन काराबास र जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाय ऐन २०६८ को दफा ३ (१) र दफा ४, ५ को कसूरमा दफा ७ (१) क बमोजिम कैद सजायको माग गरिएको छ । प्रतिवादी इन्द्रबहादुर मल्लको हकमा भने अपराधसंहिताको दफा ३६ को कसूरमा दफा ३३ ९ख० बमोजिम सजायको माग दावी गरिएको छ । घटना भएको २३ दिनपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालयले रुकुम जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो । अभियोग दर्ता भएपछि अब सोमबारदेखि बयान शुरु हुने स्रेस्तेदार बोहराले बताउनुभयो । पक्राउ परेकामध्ये दुई बालबालिका छन् । उनीहरुको बयान सोमबारदेखि शुरु हुने र बाँकीको बयान मंगलबारदेखि शुरु हुने स्रेस्तेदार बोहराको भनाइ छ । घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले छुट्टाछुट्टै मितिमा सोती गाउँका २८ र जाजरकोटका एक गरी २९ जनालाई पक्राउ गरेको छ भने पाँच जना अझै फरार छन् । पीडितले दिएको किटानी जाहेरीका आधारमा २० र अनुसन्धानका क्रममा ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । फरार पाँच जनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । सोती घटनामा छ जनाको निधन भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार