चीनको वुहान शहरबाट सुरु भएर विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासले हाल विश्व भयभित बनेको छ। संसारका कयौं मै हुँ भन्ने मुलुकहरु पनि आज कोरोना भाइरसका सामु घुँडा टेकिरहेका छन्। अहिले सम्म कोरोना भाइरसको कुनै औषधि र भ्याकसिन पत्ता नलाग्दा स्वास्थ्य क्षेत्रमा अब्बल छु भन्ने मुलुकहरुलाई कोरोना भाइरसले गिज्जाई रहेको छ। नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा उल्लेखनीय काम गर्न नसके पनि समयमै गरेको लकडाउनकै कारण हाम्रो जस्तो गरिब र स्वास्थ्य क्षेत्रमा अस्तब्यत मुलुकमा कोरोना भाइरसबाट संक्रमण र मर्नेको संख्यामा कम भएको होकी भन्ने अनुमान लगाउन सकिन्छ तर लकडाउनले मात्र कोरोना भाइरस रोकथाम तथा नियन्त्रण भने पक्कै हुदैन। यो भन्दा अगाडी लकडाउन के हो? कस्तो हुन्छ? किन गरिन्छ? लकडाउन भन्ने शब्द नै नसुनेका हामि चैत्र ११ गते देखि निरन्तर लकडाउनमा छौं। लकडाउनले नेपालको मात्र हैन विश्वको अर्थतन्त्रलाई नै अकल्पनीय क्षति पुर्याएको छ। विश्व जगतमा मानवजातिको दैनिक जीवन कष्टकर बन्दै गर्दा लकडाउनले केहि राम्रो पाठ पनि सिकाएको छ।
परिवारपालन र सुखी भविष्यको लागी मानिसहरु कुनै न कुनै नोकरी वा ब्यवसायमा ब्यस्त भैरहेका नै हुन्छन्। दिनरात नोकरी होस या ब्यवसायमा ब्यस्तताका कारण आमाबुबा र छोराछोरीले एकअर्काको मनोभाव बुझ्न पाएका थिएनन्। आमाबुबा र छोराछोरीको सम्बन्ध टाढा भैरहेको अवस्थामा लकडाउनले फेरी निकटता ल्याईदिएको छ अझ भनौं नोकरी र ब्यावसायिक जीवनको व्यस्तताले ब्यक्तिगत जीवन र पारिवारिक कर्तब्य समेत बिर्सिन थालेका मानिसहरुलाई लकडाउनले परिवारसँग समय बिताउने अवसर जुराईदिनुका साथै संकटको अन्तिम क्षणमा परिवार नै सबैभन्दा नजिकको साथी हो भन्ने सिकाइको छ।
मठ-मन्दिर, मस्जिद, चर्च, गुम्बा बनाउन तँछाड मँछाड गर्ने अनि जात र धर्मको नाममा लडाईमा मात्र अल्झिरहेको हाम्रो समाजलाई लकडाउनले यि सब बेकार हुन् एकदिन मृत्यु निश्चित छ त्यसैले संकटको समयमा धर्म गर्ने ठाउँ हैन अस्पतालको खाँचो छ भन्ने पाठ सिकाएको छ। अझ राजनीतिक खिचातानी र झैझगडाले म स्वतन्त्र नेपाली नागरिक हुँ भन्ने समेत बिर्सेका सबैलाई पुरानो दुस्मनीलाई बिर्साएर संकटको घडीमा एक भएर महामारीसँग लड्न सिकाएको छ।
धन सम्पति नै सर्वेसभा हो यसले सबै चीज किन्न सकिन्छ र यो बिना संसारमा बाँच्न मुस्किल छ भन्नेको जमात ठूलो छ। साथिभाई, इष्टमित्र र आफन्तलाई बिर्सेर पैसाको मात्र पछि दौडिरहेको समाजलाई धन सम्पतिको धाक, घमण्ड, रिस, राग, क्रोध, छल, कपट, इर्स्या सब फगत हुन् र पैसा पनि कागज बराबर हुन्छ जब रोग पैसा भन्दा पनि शक्तिशाली बन्छ भन्ने सिकाएको छ।
हाम्रो देश कृषिप्रधान मुलुक भएता पनि खाध्यान्न र तरकारीमा आत्मनिर्भर हुन नसक्दा भारतबाट आयात गर्नु पर्ने पिडा त छ्दैछ यस्तो महामारीमा खाध्यान्न र तरकारी आयातसँगै कोरोना भाइरस पनि भित्रिनाले सारा नेपाली त्रसित भएर बाँच्नु परेको अवस्थामा बर्षौ देखि बाँझो रहेको जमिनमा र कौसी कौसीमा धेरैले तरकारी खेती गर्न थालेका छन् त्यसैले लकडाउनले नारामा मात्र हैन ब्यवहारमा पनि खाध्यान्न र तरकारीलाई आत्मनिर्भर गराउनुपर्छ भन्नुका साथै जनप्रतिनिधिहरको समेत अदृश्य लगानीमा दिनप्रतिदिन खेतियोग्य जमीनलाई अब्यवस्थित तवरले प्लटिङ गरिरहेको अवस्थामा जमिनमा प्लटिङ हैन खेति नै गर्नुपर्छ भन्ने पनि पाठ सिकाएको छ।
कार्य ब्यस्तताले आफू सँग भएको प्रतिभा समेत बिर्सिसकेकाहरुलाई लकडाउन प्रतिभा पुनः उजागर गर्ने माध्यम बनेको छ। धेरैले बर्षौं देखि थाँति रहेका सृजनालाई मूर्तरुप दिएर लकडाउनको सदुपयोग गरेका छन्। सभा, गोष्ठी र सेमिनारमा लाखौ खर्च गरिरहेकालाई न्युनतम खर्चमा वेभिनार गर्न सकिन्छ भन्ने पनि सिकाएको छ। हातमा पैसा भएता पनि सबै पसलहरु बन्द हुनाले फजुल खर्च गर्न नपाएको अवस्थामा मितब्ययी हुन सिकाएको छ। काम पनि नभएका, फुर्सद पनि नभएका तर लखरलखर यताउति डुल्दै हिन्ने बानि परेका हरुलाई लकडाउनले एकैठाँउमा स्थिर भएर बस्न सिकाएको छ। भविष्यको मात्र सपना देख्ने गरेकालाई बितेका तितामिठा यादहरुको सम्झना दिलाई वर्तमानमा रमाउन र जिउँन सिकाएको छ।
ओजन तहमा प्वाल परेको कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढ्दै गैरहेको थियो। लकडाउनका कारण कलकारखाना, याताताय र निर्माणका कार्यहरु ठप्प छन् यसले गर्दा वायु र ध्वनी जस्ता प्रदूषणमा कमी आउनुका साथै प्वाल परेको ओजोन तह पनि बिस्तारै टालिदैछ जसका कारण पृथ्वीको तापक्रममा नियन्त्रण आइरहेको छ भने प्रदूषणकै कारण धेरै मानिसहरुले अकालमा ज्यान गुमाउनु पर्ने हाम्रो मुलुकमा प्रदूषणमा कमी आए सँगै अकालमै ज्यान गुमाउनेको संख्यामा पनि कमी आएको छ।
लकडाउनको नाममा जनतालाई घर भित्र थुन्ने काम मात्र गरेको तर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागी परिक्षणको दायरा बढाउन नसकेको, बजार अनुगमन गर्न नसकेको, आवश्यकता अनुसार क्वारेनटाइनको ब्यवस्थापन गर्न नसकेको जस्ता अन्य थुप्रै आरोप खेपिरहेको नेपाल सरकारले भारतले मिचिएको लिपुलेक, लिम्पियाधुरा र कालापानि सहितको नँया नक्सा बनाएर सर्बसम्मतले पारित गर्ने एतिहासिक काम पनि यहि लकडाउनकै समयमा भएको छ।
यति हुदै गर्दा पनि लकडाउनका कारण उध्योग, कालकारखाना र ब्यापारिक केन्द्रहरु बन्दका छन्। जसका कारण विश्व अर्थतन्त्र दिनदिनै ओरालो लाग्नुका साथै जनजीवन पनि नराम्ररी प्रभावित बनेको छ। रोगले कति मरे भन्ने त सबैले थाहा पाइरहेका छन् तर मानसिक तनाव र भोकले कति मरे कसैले लेखाजोखा राखेको छैन। लकडाउनले जनजीवनमा र ब्यवसायमा पुर्याएको क्षतिलाई कदापी बिर्सन सकिन्न तर यसले धेरै हानी र बेफाइदाका बीच पनि हामिलाई थोरै भएपनि केहि राम्रा र फाइदाका पाठ सिकाउनुका साथै राष्ट र राष्टियताको सवालमा एकजुट हुनुपर्छ भनेर राम्रो सन्देश पनि दिएर गएको छ।