free website hit counter

लगानीकर्ताको माग सम्बोधन गर्ने बोर्ड अध्यक्ष भट्टको आश्वासन

beemaadmin
२०८३ असार २३, मंगलवार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपाल भट्टले पूँजीबजार सुधारका लागि आठ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै लगानीकर्ताका जायज माग क्रमिक रूपमा सम्बोधन गर्ने बताएका छन्।

लगानीकर्ता संघका प्रतिनिधिहरूसँग भएको छलफलमा अध्यक्ष भट्टले बजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन आवश्यक नीतिगत तथा संरचनागत सुधार अघि बढाइने जानकारी दिएका हुन्।

छलफलमा बोर्डले पूँजीबजार सुधारका लागि भिजन पेपर तयार पारेर कार्यान्वयन प्रक्रिया अघि बढाइरहेको जानकारी दिइएको थियो।

यस्तै, नेगेटिभ नेटवर्थ भएका कम्पनीको आईपीओ निष्कासन रोक्ने, बुक बिल्डिङ र प्रिमियम मूल्यमा जारी गरिएका आईपीओबारे गम्भीर अध्ययन भइरहेको बोर्डले जनाएको छ।

लगानीकर्ताले सामान्य गुनासो लिएर धितोपत्र बोर्डसम्म धाउन नपर्ने गरी गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाइने प्रतिबद्धता पनि अध्यक्ष भट्टले व्यक्त गरे।

बोर्डले आगामी दिनमा सबै सरोकारवालासँग परामर्श गरेर मात्र नीतिगत निर्णय गर्ने, सामाजिक सञ्जालमार्फत बजारमा भ्रम फैलाउने तथा प्राविधिक विश्लेषणको नाममा इन्साइडर गतिविधि गर्ने व्यक्तिमाथि कडा निगरानी र नियमन गरिने जनाएको छ।

त्यसैगरी, प्रि–आईपीओको नाममा हुने चलखेल रोक्ने, मार्केट मेकर, डिलर र म्युचुअल फण्डको भूमिका प्रभावकारी भए–नभएको अनुगमन गर्ने तथा ब्रोकर लाइसेन्स खुला राख्ने विषयमा पनि बोर्ड सकारात्मक रहेको बताइएको छ।

अध्यक्ष भट्टले पूँजीगत लाभकरलाई अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन अवधिअनुसार व्यवस्थित गर्न अर्थ मन्त्रालयसँग समन्वय गर्ने, डिम्याट डीपी शुल्क पुनरावलोकन गर्ने तथा कम्पनीको सेयर संरचना (५१:४९ अनुपात) सम्बन्धमा पनि अध्ययन गरिने जानकारी दिए।

छलफलमा नेपाल शेयरधनी संघ, जनरल इन्भेस्टर्स एसोसिएसन, नेपाल शेयर बजार लगानीकर्ता संघ तथा साधारण लगानीकर्ता संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार