काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय भेला/सम्मेलनका संयोजक शशांक कोइरालाले सभापति गगन थापालाई स्वीकार गर्न आफूहरू तयार रहेको बताएका छन्। तर, पार्टी एकताका लागि वरिष्ठ नेताहरूलाई समेत समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
साउन २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय भेला/सम्मेलनपछि सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित चियापान समारोहमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले पार्टीभित्रको विवाद पद बाँडफाँटसँग जोडिएको संकेत गरे।
उनले गगन थापालाई सभापतिका रूपमा स्वीकार गर्न आफूहरू तयार रहेको, तर अन्य नेताहरूलाई पनि उचित स्थान दिनुपर्ने बताए।
‘सभापति गगन थापा तपाईं नै बस्नुस्, अरू साथीहरूलाई समेट्नुस् भनेको हो। त्यो उहाँले नमान्ने हो भने हामी के गर्न सक्छौँ?’ कोइरालाले भने।
पत्रकारले गगन थापालाई सभापति मान्न तयार हो भनेर सोध्दा उनले स्पष्ट रूपमा ‘हो’ भन्ने जवाफ दिएका थिए।
कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच संवाद गराउने तथा उनीहरूबीचको दूरी कम गर्ने प्रयास गरिरहेको पनि बताए।
उनका अनुसार आफूले गगनसँग पटक–पटक भेटेर पार्टी एकताका विषयमा छलफल गरेको भए पनि व्यक्तिगत रूपमा आफूलाई मात्रै आफ्नो पक्षमा ल्याउने प्रयास स्वीकार्य नभएको हो।
‘म पार्टी विभाजनको पक्षमा छैन। हामी बीचको लाइनमा छौँ, हामी मिलाएर जान्छौँ। कहिले र कसरी मिल्छ भन्न गाह्रो छ,’ उनले भने।
दुवै पक्षले आफूलाई के चाहिएको हो भन्ने विषयमा स्पष्ट भएर छलफल गर्नुपर्ने उनको भनाइ छ। पार्टीभित्रको लामो विवादको मुख्य कारण पद नै भएको कोइरालाले बताए।
‘पद नचाहिएको भए यत्रो लडाइँ किन हुन्थ्यो? शेरबहादुरजी सभापति हुनुहुन्थ्यो, उहाँलाई पद चाहियो, छुट्टिएर गए,’ उनले भने।
कोइरालाले कांग्रेसभित्रको विवाद अन्त्य गर्न व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबै पक्षलाई समेट्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।