free website hit counter

विजयादशमीमा प्रधानमन्त्री शाहको शुभकामना : भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुनुपर्नेमा जोड

beemaadmin
२०८३ कार्तिक ५, बुधबार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले विजयादशमीलाई असत्यमाथि सत्यको विजयको उत्सवका रूपमा व्याख्या गरेका छन्। पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिनका रूपमा विजयादशमी मनाइने उनले स्मरण गरेका छन्।

Advertisement
Advertisement

प्रधानमन्त्री शाहले विजयादशमीका दिन मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले आत्मीयता र सद्भाव बढाउने बताएका छन्। दुर्गा भवानीले विजय प्राप्त गरेजस्तै सबैले हरेक सत्कर्ममा सफलता हासिल गर्न सकून् भन्ने कामनासमेत उनले गरेका छन्।

Advertisement
Advertisement

उनले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने उल्लेख गरेका छन्। साथै भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथितिलाई आसुरी प्रवृत्तिको संज्ञा दिँदै यस्ता विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

‘आशीर्वाद ग्रहण गर्न टाढा रहनुभएका मान्यजनहरूलाई समेत हामी खोजीखोजी पुग्छौँ,’ प्रधानमन्त्री शाहले सन्देशमा भनेका छन्।

हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने अनुभूति गराउन आवश्यक रहेको उल्लेख गर्दै उनले इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनतबाट मात्रै समाजमा विद्यमान विकृति हटाउन सकिने बताएका छन्।

‘परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ,’ उनले भनेका छन्।

प्रधानमन्त्री शाहले विजयादशमीजस्ता पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने बताएका छन्। वर्षौँदेखि टाढिएका साथीभाइ तथा आफन्तजनसँग भेटघाट गरी आत्मीयता साटासाट गर्ने अवसरका रूपमा पनि यस पर्वको विशेष महत्त्व रहेको उनको भनाइ छ।

सम्बन्धित समाचार