काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपछि आजदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ ।
‘घ’ वर्गको इजाजतपत्र प्राप्त स्वरोजगार लघुवित्तले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रिया पूरा गरेको हो ।
प्राप्तिपश्चात् विन नेपाल लघुवित्तका सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरू स्वरोजगार लघुवित्तले व्यहोर्ने गरी एकीकृत कारोबार सञ्चालन हुनेछ ।
एकीकृत कारोबार सुरु गर्ने प्रयोजनका लागि आज दुवै वित्तीय संस्थाका सम्पूर्ण बैंकिङ सेवाहरू एक दिनका लागि बन्द रहने जनाइएको छ ।
प्राप्तिपछि संस्थाको नाम भने ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै कायम रहनेछ । संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ मा रहनेछ ।
विन नेपाल लघुवित्तलाई प्राप्ति गरेसँगै स्वरोजगार लघुवित्तको व्यवसाय तथा सेवा सञ्जाल थप विस्तार हुने अपेक्षा गरिएको छ ।